
बागमती गाउँपालिका–३, मास्खोलामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दैगर्दा एक जनाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त चापागाउँका अनुसार कलंकी घर भएका ४८ वर्षीय निरज खनालको मृत्यु भएको हो ।
उनीहरू कान्ति लोकपथ भएर हेटौँडा जाने क्रममा बा ४५ प ४९०६ नम्बरको मोटरसाइकल निरन्तर वर्षाले सडक बिग्रेका कारण २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका अर्का व्यक्ति धोबीघाट घर भएका ४७ वर्षीय निरञ्जनसिंह हमालको भने अहिले पाटनमै उपचार भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए ।
बिहान दुर्घटना भएको सूचना पाएर घटनास्थल पुग्दा दुवै व्यक्ति घाइते भएकाले पाटन ल्याएर उपचार गर्ने क्रममा खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।