
यसपटक राष्ट्रिय परीक्षा बोर्डले अघिल्ला वर्षहरूमा जस्तो माध्यमिक शिक्षा परीक्षा (एसईर्ई)को नतिजाको वर्गीकरण भने गरेको छैन ।
अघिल्ला वर्षमा एसर्ईईको नतिजा प्रकाशन गर्दा कुन ग्रेड ल्याउने कति विद्यार्थी भन्ने तथ्यांक पनि बोर्डले प्रकाशन गर्ने गरेको थियो ।
नतिजा प्रकाशन हुँदा नै कुन ग्रेड ल्याउने कति विद्यार्थी भए भन्ने पनि उल्लेख हुने गरेको थियो ।
तर, यस वर्ष उत्तीर्ण भएका विद्यार्थीको सूची मात्रै प्रकाशन भएको छ । ग्रेड ए प्लस, ए वा बी ल्याउने विद्यार्थीको संख्या भने खुलाइएको छैन ।
यस पटक विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित मात्रै गरेकाले नतिजाको वर्गीकरण नगरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
‘विद्यालयले आ–आफ्नो तरिकाले मूल्यांकन गरेका छन् । विद्यालयले गरेको मूल्यांकनका आधारमा आएको नतिजाको वर्गीकरण गर्नु व्यवहारिक देखिएन,’ पौडलले भने ।
तर, विद्यार्थीको लब्धाङ्क पत्र (मार्कसिट)मा उनीहरूले प्राप्त गरेको ग्रेड र जीपीए उल्लेख हुनेछ । बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गरेको छ ।
बोर्डका अध्यक्ष पौडेलका अनुसार चार लाख ७४ हजार २७८ विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको छ ।
नतिजा ईजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ ।
त्यस्तै नेपाल टेलिकमबाट १६०० डायल गरेर वा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । साथै एनसेलबाट पनि १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।
साथै यी लिंकबाट पनि नतिजा हेर्न सकिने छ ।
www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com,