
काठमाडौं, २९ जेठ — अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको लवाइखवाइ त्यस्तो विशिष्ट नभएपनि उनको वस्त्रविन्यासका प्रशंसकको संख्या ठूलै थियो । जोन एफ केनेडीपछिका सबभन्दा स्टाइलिश राष्ट्रपति मानिएका ओबामाले अवसर अनुसारको लुगा लगाउन जानेका थिए ।

औपचारिक समारोहमा क्लासिक कालो टुक्सिडो ज्याकेट लगाउने ओबामाले त्यही एउटा टुक्सिडो ज्याकेट राष्ट्रपति रहुन्जेलको आठ वर्षसम्म लगाएका उनकी पत्नी मिशेलले खुलासा गरेकी छन् ।
पूर्व प्रथम महिला मिशेलले आफ्ना लत्ताकपडाको जतिखेर पनि निरीक्षण हुने गरेको भएपनि उनको श्रीमानले चाहिँ ह्वाइट हाउसमा दुवै कार्यकाल अवधिभर एउटै ज्याकेट लाएर बिताएको बताइन् ।
‘तपाईंले जतिसुकै फेशनका कुरा झिकेपनि उनले त्यही एउटा टुक्सिडोमा समय बिताए,’ ओबामाले गत मंगलवार एप्पल वर्ल्डवाइड डिभेलोपर्स कन्फेरेन्समा बताइन् ।
‘मानिसहरू मैले लगाएको जुत्ता, ब्रासलेट, नेकलेसको तस्वीर खिच्न व्यस्त हुँदा बाराकले त्यही टुक्सिडो र त्यही जुत्ता आठ वर्षसम्म लगाएकोमा टिप्पणी गरेनन्,’ उनले भनिन् ।
प्रथम महिला हुँदा मिशेल ओबामालाई स्टाइल आइकन मानिन्थ्यो ।
दी इन्डिपेन्डेन्टबाट