
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिएका छन् । उनले देउवालाई असफल पार्टी नेतृत्वको रुपमा चित्रित गर्दै असफल व्यक्तिहरुले सत्ता सम्हाल्नु देशकै लागि बिडम्बना भएको पनि बताएका छन् ।
पार्टीको विधानले पार्टी सभापतिको कार्यकाल ४ वर्ष तोकेको तथा असाधारण परिस्थिति भनेर एक वर्ष थपिएको अवस्थामा संविधानलाई समातेर फेरि ६ महिना बढाइएको बढाउँदा पनि महाधिवेशन नगरी अहिले निर्वाचन आयोगसँग भीख मागेर निरीह अवस्थामा पुग्नु नेतृत्वको चरम असफलता भएको उनको भनाइ छ ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?
उनले थपेका छन्, ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु वारम्वार सत्ता समाल्न पुग्छन् ।
काँग्रेसले आगामी भदौमा महाधिवेशन तोकेपनि फेरि सार्ने तयारी भएको बेला पौडेलले यस्तो टिप्पणी गरेका हुन् । पौडेल तोकिएको समयमा महाधिवेशन हुन नसक्ने हो भने विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् ।