नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको दोस्रो पूर्ण बैठकले कुनै पनि महामारी, अन्य विपद् र पत्रकारका समस्यामा परिचालन गर्ने गरी १ करोडको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ ।
प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा आइतवार बसेको बैठकले सो निर्णय गरेको हो ।
कोरोनाका कारण प्रदेशमा ४ पत्रकारको मृत्यु भएको र १२५ जना संक्रमित भएको विवरण महासंघमा रहेको जानकारी गराइएको छ ।
बैठकले कोरोना महामारीका बेला जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारको पारिश्रमिक कटौती गर्ने, बिदामा बस्न दबाब दिने र लामो समयदेखि पारिश्रमिक नदिने कार्य आपत्तिजनक रहेको ठहर गर्दै तत्काल समस्या समाधान गर्न सबै सञ्चारगृहलाई आग्रह गरेको छ ।
श्रमको मूल्यका लागि आवश्यक परे संघर्षमा उत्रने र संघर्षका अभियानमा सामेल हुने निर्णय गरिएको छ ।
कोरोना संक्रमणका कारण पत्रकार तथा स्वरोजगारमूलक मिडिया बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीररूपमा लिइ पत्रकार र स्वरोजगारमूलक मिडियाको उत्थानका लागि विशेष प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
यसअघि प्रदेश सरकारले गरेको सहयोगप्रति आभार पनि व्यक्त गरिएको छ ।