
९ महिने बालक मुहम्मद उस्मान अलीलाई मेरुदण्ड बांगो हुने दुर्लभ रोग लागेको छ ।
तनहुँ सुनपा नगरपालिका दुलेगौडा स्थायी घर भएका उस्मानलाई सो रोग लागेपछि उपचारमा आर्थिक अभाव हुन थालेको छ ।
अलीको परिवारले आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकाले आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
हाल उनको काठमाडौंंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
उस्मानका बाबु मुबारक अलीले छोरा सामान्य अवस्थामा जन्मिएको बताए । ‘५ महिना पुग्दासम्म उनले टाउको उठाउने, यताउता गर्ने जस्ता लक्षण देखाएनन्, उनी जहाँ सुतायो त्यही सुतिरहने यताउता फर्कन नसक्ने जस्ता लक्षण देखिए,’ उनले भने ।
यस्तो लक्षण देखिएपछि उस्मानलाई ‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ नामको दुर्लभ रोग कान्ति बाल अस्पतालमा पत्ता लागेको बताए ।
उस्मानको उपचारमा प्रयोग हुने जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकन डलर अर्थात २५ करोड २८ लाख रूपैयाँ आवश्यक पर्ने भएकोले आफ्नो परिवारसँग पर्याप्त रकम नभएको भन्दै मुबारक अलीले सहयोग गर्न अनुरोध गरेका छन् । सहयोग गर्न चाहनेहरूले बिरामी बालकको बाबुको नाममा रहेको प्राइम कमर्सियल बैंकको खाता नम्बर १७२०००६८६ मा सहयोग गर्न सक्ने छन् ।
यो दुर्लभ रोग यसअघि पनि २२ महिने सियोना श्रेष्ठलाई भेटिएको थियो । हाल विभिन्न संघसंस्थाको सहयोगमा श्रेष्ठको उपचार दुबईमा भइरहेको छ ।