०५ साउन २०८३, मंगलबार

माधव नेपालको उद्घोष : ‘कसैको टाङमुनि छिर्दैनौं, कर्णालीका नेतालाई जिताउने मेरो जिम्मा भयो’

माधव नेपालको उद्घोष : ‘कसैको टाङमुनि छिर्दैनौं, कर्णालीका नेतालाई जिताउने मेरो जिम्मा भयो’

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले तानाशाही प्रवृत्तिसँग नझुक्ने र कसैको टाङमुनि नछिर्ने बताएका छन् । 

सामुदायिक विद्यालयमा अध्ययन गरेर एमबीबीएसको परीक्षामा १ नम्बरमा नाम निकाल्न सफल आशिक झालाई सम्मान गर्न अनेरास्ववियूले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘शिर निहुर्‍याउने छैनौं, अँध्यारो सुरुङमा छिर्नेवाला छैनौं, कसैको टाङमुनि छिर्ने छैनौं । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर, तिनलाई माथ गरेर नै अगाडि बढ्नेछौं ।’ 

जस्तो कार्यक्रम त्यस्तै कुरा गर्ने बानी रहेको बताउँदै नेपालले भने, ‘विवाहमा जानुभएको छ भने मलामीको कुरा नगर्नुहोस्, मलामी जाँदै हुनुहुन्छ भने गीतसंगीतको कुरा गर्नुहोस् । जस्तो देश उस्तै भेष ! यत्तिकै भनेको होइन ।’

कार्यक्रममा नेता नेपालले कर्णालीका सांसदले बहादुरी देखाएको र अब त्यहाँ निर्वाचन भए जिताउने जिम्मा आफ्नो भएको बताए । 

सम्बोधनका क्रममा नेपालले भने, ‘कर्णालीका मन्त्रीले बताउनुभयो, उहाँहरूले बडो साहसका साथ, हिम्मतका साथ गलत कुराका विरुद्धमा उभिने आट गर्नुभयो । त्यही कारण उहाँको सदस्यता धरापमा छ । मैले भनिसकेको छु – तपाईंहरूको सदस्यता धरापमा छ भने सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईंहरूलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’ 

कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगाउनका लागि माधव नेपाल समूहका ४ जना सांसदहरूले ‘फ्लोर क्रस’ गरेर मतदान गरेका थिए । एमाले पार्टीले गरेको कारबाही सर्वाेच्च अदालतले पनि सदर गरेको थियो । 

धर्तीमा साहसी र बहादुरी भएकाहरूको मात्रै कदर हुने र कायर र डरपोकको कहीँ पनि ठाउँ नहुने नेपालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्