
क्षमताभन्दा तेब्बर लोड बोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।
भारतबाट भारबहन क्षमताभन्दा तेब्बर लोड बोकेर आउने र ती सवारी सिधै मुलुकभर पुग्दा नेपाली मालबाहक सवारी खाली बस्नुपरेको व्यवसायीको गुनासो छ ।
भार क्षमताभन्दा बढी सामान बोकेर भारतीय गाडी निर्वाध चल्दा नेपालका मालबाहक सवारी खाली बस्नुपरेको र भारतीय गाडीका कारण नेपालका सडक बिग्रिने गरेको भन्दै नेपाली व्यवसायीले नाकामा भारतीय मालबाहक गाडी रोकेका छन् ।
भारतबाट सामान बोकेर नेपाल आई भन्सार जाँचपास गरेर बाहिर निस्किएका भारतीय नम्बर प्लेटका मालबाहक गाडी सोमवारदेखि रुपन्देहीको बेलहियास्थित बाइपास सडकमा रोकिएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफूहरूका मालबाहक सवारी खाली बस्नुपरेको र नेपालका सडक सञ्जाल भत्किएकाले गाडी रोकिएको बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले यही कारणले ट्रक यातायात व्यवसायी मर्कामा परेका बताए ।
मालबाहक सवारीसाधनको भारबहन नियमन सम्बन्धी निर्देशिका–२०७४ अनुसार भारतबाट ओभरलोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ तर ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हुँदैन । यस्ता गाडी निर्वाध नेपालमा चल्छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निर्मित कार्यालय प्रमुख दामोदर मल्लले नाकामा ओभरलोड गाडीलाई अधिकतम १ हजार ५०० रुपैयाँ जरिवाना काटेर छाड्ने गरेको छ । जरिवान काटेकै भरमा नेपालभर निर्वाध चल्न दिइँदा नेपाली व्यवसायी फुर्सदिला भएका हुन् । ट्राफिक प्रहरीका अनुसार अधिकांश भारतीय गाडी ओभरलोड बोकेर नेपाल आउने गर्छन् ।
व्यवसायीले भन्सार विन्दुमै भारमिलान गर्नुपर्ने माग गर्दै आएका छन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले आर्थिक ऐन र भन्सार ऐनले ओभरलोड हेर्ने जिम्मेवारी नदिएको भन्दै पन्छिने गरेका छन् ।
नियमअनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारले ९.६, १० चक्केले १६.२, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेका छन् ।
भारतीय मालबाहक गाडीलाई जरिवानाकै भरमा नेपालमा निर्वाध चल्न दिएको छ तर नेपाली मालबाहक गाडीलाई ३० टनभन्दा बढी बोक्नमा रोक लगाइएको छ । जसले गर्दा नेपाली गाडीमा उद्योगी–व्यवसायीले सामान ओसार्दैनन् ।
जरिवानाकै आधारमा भारतीय गाडीलाई ओभरलोड बोक्न दिइँदा एकातर्फ सडक ध्वस्त भएका छन् भने नेपाली व्यवसायीले काम नै नपाउँदा खाली ट्रक थन्क्याएर राख्नुपरेको व्यवसायीको गुनासो छ ।