लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा मंगलवार बिहानैदेखि आवतजावत बन्द भएको थियो ।
पहिरोलाई २ वटा जेसीबीको सहायताले पन्छाएपछि दिउँसोदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
अवरुद्ध राजमार्ग खुलेसँगै राजमार्ग पूर्णरूपमा सञ्चालमा आएको र रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
सडक विस्तारको काम चलिरहेको सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोस्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए । पहिरो पन्छाएर सवारी आवागमन शुरू भएको भए पनि फेरि पहिरो खस्ने जोखिम रहेको बताइएको छ ।
गत असारदेखि हालसम्म पहिरोका कारण १५ भन्दा बढी पटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।