०४ असार २०८३, बिहीबार

दुई प्रधानमन्त्री शेरबहादुर र स्वर्गीय सुर्यबहादुरका गृहजिल्लाका नगरसँग काठमाडौँ महानगरको भगिनी सम्वन्ध

दुई प्रधानमन्त्री शेरबहादुर र स्वर्गीय सुर्यबहादुरका गृहजिल्लाका नगरसँग काठमाडौँ महानगरको भगिनी सम्वन्ध

काठमाडौँ महानगरपालिकाले थप दुई ओटा नगरपालिकासँग अन्तर स्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।  

राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१ को पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाबीच अन्तर स्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो ।

ती दुई नगरबीच गरेको समझदारी पत्रमा काठमाडौँ महानगरपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गर्नुभयो भयो । त्यसैगरी अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरे।  

सात प्रदेशका सात स्थानीय तहसँग अन्तर स्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजना अनुसार यस अघि नै काठमाडौँ महानगरपालिकाले कर्णालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ । 

हितैषी तथा मैत्रीपूर्ण सम्वन्ध मार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबीच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए। 

‘मुलुक भित्रकै स्थानीय तह, स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापनाले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतुले यस्ता सम्वन्ध स्थापना गरेका हौँ,’ सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रमपछि सम्वोधन गर्दै प्रमुख शाक्यले भन्नुभयो ‘आज हामीले पाख्रीबास र अमरगढी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेका छौँ । यी दुई नगर र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ ।’

आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई नगरको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुने अपेक्षा लिएको पनि उहाँले बताए ।

‘यस्ता सम्बन्धले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न,  मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्नलगायतका पनि सहयोग पुग्ने छ,’ उहाँले भन्नुभयो, ‘मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्न हामी तयार छौँ ।’ 

एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भन्दै पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको र त्यहि अनुरुप थप दुई नगरसँग सम्बन्ध स्थापना गरेको जानकारी दिए ।

‘संयोग नै भन्नुपर्छ धनकुटा स्वर्गीय पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको र डडेलधुरा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हुन्,’ प्रमुख शाक्यले भने, ‘आज यी दुबै जिल्लाका नगरसँग भगिनी सम्वन्ध स्थापना गर्न पाउँदा खुशी लागेको छ ।’ 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ । 

कार्यक्रमलाई सम्वोधन गर्दै पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले काठमाडौँ र पाख्रीबासको भूगोल एउटै भए पनि सपना अलग–अलग रहेको भन्दै  दुई स्थानीय तहबीचको सम्बन्धले आफू उत्साहित भएको बताए ।

‘काठमाडौँ महानगरले मोनोरेल र मेट्रोरेलको सपना देखेको छ । यहाँको महानगरको सपना ठूलो छ,’ प्रमुख राईले भन्नुभयो, ‘हाम्रो सपना सबै वडामा सबै मौसममा यातायात आजत–जावत गर्न सक्ने सडक बनोस् भन्ने सपना छ । यस्ता दुई नगरबीचको सम्बन्धले हामी उत्साहित भएका छौँ ।’ 

कार्यक्रममा सम्वोधन गर्दै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बडाकाजी अमरसिंह थापाले पश्चिमी क्षेत्रको एकीकरणका बेला निर्माण गरेको ऐतिहासिक अमरगढी किल्ला र त्यहि किल्लाको नामबाट स्थापित नगरपालिका र साँस्कृतिक सहर काठमाडौँ महानगरबीच भगिनी सम्वन्ध स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उहाँले सहिद भिमदत्त पन्तको जन्मभूमि, प्रसिद्ध धार्मिक स्थल उग्रतारा रहेको अमरगढी धार्मिक तथा पर्यटकीय स्थल पनि रहेको जानकारी दिनुभयो । 

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विकास निर्माणका काममा हातेमालो गर्दै काठमाडौँ महानगरपालिका अघि बढेको बताए ।   

समझदारी पत्रमा हस्ताक्षरसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न १ करोड ५० लाख सहयोग सम्झौता गरेको छ । 

त्यसैगरी अमरगढी नगरपालिकाको वडा नम्बर–२ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि १ करोड ५० लाख सहयोग गरेको छ । ४ सय ५० रोपी क्षेत्रफल रहेको सो पार्क निर्माणका लागि सहयोग गरेको महानगरपालिकाले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्