कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
अर्थ मन्त्रालयमा बुधवार आयोजित समारोहमा सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् ।
कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैंकको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनःरुत्थानमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एसियाली विकास बैंकको ऋण सहायताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
एडीबीका देशीय निर्देशक कुस्वाले सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनःरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बंैकले पुर्याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए ।
यसबाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड–१९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।