
संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन प्रारम्भिक परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र चोरी घटनामा तीन प्रहरी कर्मचारीलाई निलम्बन र ११ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामाको संयोजकत्वमा गठित नेपाल प्रहरीको संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनका लागि तयार पारिएको प्रश्नपत्र चोरी घटनासम्बन्धी छानबिन समितिले उक्त सिफारिस गरेको हो।
समितिले करिब एक हप्ता लगाएर तयार पारेको छानबिन प्रतिवेदन बुधबार प्रहरी महानिरीक्षक शैलेशकुमार थापा क्षेत्रीलाई बुझाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता (वरिष्ठ प्रहरी उपरीक्षक) वसन्तबहादुर कुँवरले नक्सालस्थित प्रहरी प्रधान कार्यालय यूएन शाखा प्रमुखको दराज खोली प्रश्नपत्र चोरी गर्ने र चोरी गर्न सहयोग पु¥याउनेलाई छानबिन प्रतिवेदनले कारबाही सिफारिस गरेको बताए ।
यूएन शाखाले साउन १५ र १६ गते शान्ति मिसन प्रारम्भिक परीक्षाको मिति तोकेको थियो तर प्रश्नपत्र तीन दिनअघि चोरी भएको समितिले जनाएको छ। चोरीमा यूएन शाखाले बनाएको परीक्षा सञ्चालन समितिका सदस्यकै संलग्नता देखिएको छ। यसमा प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापाकै संलग्नता भेटिएको छ। छानबिन समितिले सई थापा, यूएन शाखामा कार्यरत परिचर सुरेश बम र हवल्दार कुमार शाहलाई मुख्य दोषी देखाउँदै निलम्बनको सिफारिस गरेको छ।
सई थापाको सल्लाह, हवल्दार शाहको सहयोगमा परिचर बमले प्रश्नपत्र चोरी गरेका थिए। त्यस्तै सई थापाबाट प्रश्नपत्र बुझ्ने सई केशव कार्की र असई अशोक कार्कीलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको छ। प्रश्नपत्र यूएन शाखा प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर राणाले आफ्नो कार्यकक्षको दराजको घर्रामा गोप्य रूपमा राखेका थिए । एसपी राणा साँझ घर गएको मौका पारी परिचर बमले अर्कै चाबी प्रयोग गरी प्रश्नपत्र निकालेर फोटो खिची हवल्दार शाहको भाइबरमा पठाएको पाइएको छ।
यूएन शान्ति मिसन प्रारम्भिक परीक्षा पुनः सञ्चालन गर्न सुझाव दिइएको छ। प्रश्नपत्र चोर्न उक्साएको अभियोगमा प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वय रूपेश खड्का र सुगन्ध श्रेष्ठ, प्रहरी निरीक्षक दिलीप क्षेत्री, प्रहरी नायब निरीक्षक केदार तिमल्सिना र सुनिलकुमार भण्डारीसमेतलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।
यसअघि पनि यूएन प्रारम्भिक परीक्षाको प्रश्नपत्र चोरी भएको थियो। प्रहरीको यूएन शाखामा लामो समयदेखि कार्यरत तल्लो दर्जाका प्रहरी कर्मचारीले प्रश्नपत्र चोरी गरी त्यसको फोटो खिचेर चिरपरिचित सई र असई तहका परीक्षार्थीलाई पठाउने गरेको पाइएको छ । गोरखापत्रमा खबर छ ।