
अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्रमार्फत आफूले अर्थतन्त्रको अनुहार प्रस्तुत गरेको बताएका छन् ।
उनले आफूले पेश गरेको तथ्याङ्क गलत भए त्यसको जिम्मा लिन आफू तयार रहेको बताए ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा देशको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र सार्वजनिक गरेपछिको प्रश्नोत्तरमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले देशको अर्थतन्त्रको वास्तविक चित्र पेश गरेको र कतै आग्रह पूर्वाग्रह नराखिएको बताएका हुन् ।
‘अर्थतन्त्रको ऐना प्रस्तुत गरेको छु, देशको अर्थतन्त्रको अनुहार देखाएको हो, जसरी हेर्यो त्यस्तै देखिन्छ । डाटामा कतै परेको रहेछ भने जिम्मा लिन तयार छु । भए गरेका कामको कुरा लेखेको छ, आग्रहको गन्ध भेटिएको छैन,’ मन्त्री शर्माले भने ।
मन्त्री शर्माले सरकारले संसद्मा पेश गरेको बजेटसम्बन्धी अध्यादेशहरू संशोधन र प्रतिस्थापनको निर्णय संसद्मा आएर हुने बताए । ‘राष्ट्रिय गौरवका आयोजनामा पर्याप्त बजेट हुनेछ,’ मन्त्री शर्माले भने ।
श्वेतपत्र पूर्वाग्रही ढंगले आएको भन्दै एमाले सांसदहरूले संसद्मा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका थिए ।
मंगलवार प्रतिनिधि सभामा पेश गरिएको श्वेतपत्र आज राष्ट्रिय सभामा पेश गरिएको हो ।