
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिने भएको छ ।
सुविधा सम्पन्न वृद्धाश्रम निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बागलुङ नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको समन्वयमा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थमन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गर्न थालिएको बताइएको छ ।
बागलुङ नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा परेका, स्याहारसुसार नपाएकालाई आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना ४ वर्षअघि नै अघि सारेको भए पनि अहिले आएर बजेट विनियोजन भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।
‘सकेसम्म वृद्धाश्रम जाने वातावरण नबनोस् भन्ने आमधारण हुन्छ तर पछिल्लो समय वृद्धाश्रम अनिवार्य जस्तै बन्दै गएको विभिन्न स्थानमा सञ्चालनमा आएका आश्रमले देखाउँछ,’ उनले भने, ‘घरमा बस्ने वातावरण नभएका, हेला होचामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योग गर्न सिकाउने र खुशी जीवनयापन गर्न सिकाउने मूल उद्देश्य लिएर वृद्धाश्रम निर्माण गरिन लागेको हो ।’
वैदेशिक रोजगारिका लागि युरोप अमेरिका जानेले आफ्ना बुबाआमालाई वृद्धाश्रममा राख्ने गरेको समेत पाइएको छ ।
आर्थिक वर्ष २०७८/८९ मा एक तला भवन निर्माण गर्ने योजना रहेको र यसका लागि २ करोड ६७ लाख बजेट विनियोजन भएर आएको छ ।
भवन निर्माणका लागि तत्कालै ठेक्का प्रक्रियामा जाने बागलुङ नगरपलिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिए ।