२३ असार २०८३, मंगलबार

पाकिस्तानलाई किन यत्ति धेरै बेवास्ता गर्दैछन् बाइडन ?

साउन २८, २०७८
पाकिस्तानलाई किन यत्ति धेरै बेवास्ता गर्दैछन् बाइडन ?

अमेरिका र पाकिस्तानबीचको सम्बन्ध निकै अप्ठ्यारो स्थितिमा छ । पाकिस्तानी नेताहरूले बढ्ता बोल्ने गरेको भएर सम्बन्ध थप जटिल बनेको बताइन्छ । 

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोईद युसुफले अमेरिकाको भ्रमणमा कडा बयान दिए । अमेरिकाका राष्ट्रपति जो बाइडनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई फोन नगरेमा पाकिस्तानले अन्य विकल्पमा पनि काम गर्न सक्ने उनले बताए । 

युसुफले फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा बताएका थिए, ‘अमेरिकाका राष्ट्रपतिले इमरान खानसँग कुरै गरेका छैनन् जबकि पाकिस्तान महत्त्वपूर्ण देश हो । अमेरिका आफैं अफगानिस्तानमा पाकिस्तानको महत्त्वपूर्ण भूमिका छ भन्छ तैपनि उपेक्षा गरिबस्छ । हामी यस सन्देशलाई बुझ्ने कोशिश गर्दैछौं ।’

युसुफको यस बयानले नै अमेरिकासँग पाकिस्तानको सम्बन्ध गम्भीर मोडमा पुगेको संकेत दिन्छ । दुई देशबीचको सहयोगको भविष्य अन्धकारमय देखिन्छ । युसुफले अमेरिकी अधिकारीहरूसँग गरेको वार्ता पनि खासै सफल भएन ।

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पनि पाकिस्तानलाई अमेरिकाले ध्यान दिनुपर्ने बताएका छन् । 

अमेरिकी सैनिकहरूले अफगानिस्तान छोडिरहँदा पाकिस्तानले तालिबानलाई रोके हुन्थ्यो भन्ने अमेरिकाको चाहना हो । तर यस विषयमा जो बाइडनले इमरान खानलाई फोनै गरेका छैनन् । 

जिओ टीभीको एक कार्यक्रममा कुरैशीले पाकिस्तानलाई फोन नआउँदा निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । अमेरिकाले पाकिस्तानसँग दूरी बढाउन चाहेमा उसैलाई हानि पुग्ने कुरैशीको भनाइ छ । 

अमेरिकाले भाउ नदिँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि निराश छन् । 

उनले इस्लामाबादस्थित आफ्नो आवासमा विदेशी पत्रकारहरूसँग कुरा गर्दै बताए, ‘विगत २० वर्षमा अफगानिस्तानमा सैन्य समाधान खोज्ने क्रममा बिग्रको स्थिति सपार्न पाकिस्तानलाई नै उपयोगी मानिएको छ । हामी अफगानिस्तानमा कसैको पनि पक्ष लिइरहेका छैनौं । अमेरिकाले अब भारत नै उसको रणनीतिक साझेदार हो भन्ने निर्णय लिएको जस्तो मलाई लाग्छ । त्यसैले गर्दा उसले पाकिस्तानसँग उदासीन व्यवहार देखाइरहेको हुनुपर्छ ।’

उनले थप बताए, ‘तालिबान नेताहरूले मलाई अफगानिस्तानमा अशरफ गनी राष्ट्रपति हुन्जेल सरकारसँग कुरा नगर्ने बताएका छन् ।’

तर कतिपय व्यक्तिले अमेरिका पाकिस्तानमा जससँग कुरा गर्नुपर्ने हो उससँग कुरा गरिरहेको बताउँछन् । अमेरिकाका रक्षामन्त्रीले पाकिस्तानी सेनाका प्रमुख कमर जावेद बाजवासँग कुरा गरेका छन् र सीआईए प्रमुखले पाकिस्तानको भ्रमण पनि गरेका छन् । 

विल्सन सेन्टरमा साउथ एसियाका सिनियर एसोसिएट माइकल कगलम्यानले ट्वीट गरेर बताए, ‘पाकिस्तानमा सबभन्दा शक्तिशाली व्यक्ति सेनाप्रमुख बाजवा हुन् भन्ने अमेरिकालाई लागेको छ । पाकिस्तानलाई अमेरिकाले महत्त्वपूर्ण नमानेको हैन तर जससँग कुरा गर्नुपर्ने हो, उसैसँग गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्