
सुनसरीका मेयर द्वारिकलाल चौधरीले नगरवासीलाई थुनेको भन्दै नेपाली कांग्रेस इटहरीले इटहरी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेको छ ।
इटहरी–४ का यमबहादुर ढकाललाई मेयरले बुधवार कार्यालयमा थुनेको भन्दै कांग्रेस आन्दोलित भएको छ । कार्यालयमा थुनेर मेयर हिँडेको आरोप कांग्रेसले लगाएको छ ।
मेयर चौधरीले ‘एसीको चिसोमा बस्दै गर्नुहोस्’ भनेर आफू हिँडेको बताएका छन् । ‘बोलाएको समयमा ढकाल नआइपुगेकाले फिल्डमा जान ढिलो भएको थियो,’ मेयर चौधरीले भने, ‘हामी केहीबेरमा आउँछौं, तपाई बस्दै गर्नुहोस्, आएपछि गफ गरौंला भनेर हिँडेका हौं ।’
ढकालले ऐलानी जग्गा मिचेर घर बनाएको र नक्सा पास समेत नगरेको भन्दै बुधवार दिउँसो कार्यालयमा बोलाएर १ हप्ताभित्रमा आउन मात्रै भनेको उनले बताए ।
मेयर चौधरीले नगरवासीलाई नियमविपरीत कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरीले उपमहानगरपालिका घेराउ गरेको छ । बुधवार साँझ मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । इटहरी कांग्रेसले मेयरले सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताएको छ ।
