काठमाडौँ, २९ जेठ - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भाग नलिने भनी गरेको निर्णयप्रति प्रजातान्त्रिक विचार समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राजपाकै कारण पटकपटक निर्वाचन मिति सरेको र यस विषयमा सरकार गम्भीर भएन भन्नु बेठीक हो भन्दै समाजले आज एक प्रेस विज्ञप्तिमार्फत आम नागरिकले मतदानमार्फत आफ्नो प्रतिनिधि चुन्ने अवसरलाई सुरक्षित राख्दै निर्वाचनबाट अलग हुने प्रयास नगर्न आग्रह गरेको हो ।
सरकारले आइतबार मात्र संसद्बाट राजपालाई निर्वाचन चिह्न उपलब्ध गराउन राजनीतिक दलसम्बन्धी ऐन संशोधन गराएको अवस्थामा निर्वाचन बिथोल्ने गरी आम हड्तालसम्मका कार्यक्रम सार्वजनिक गर्नु लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत कार्य भएको समाजको ठहर छ ।
साथै, समाजले निर्धारित समयमै सबै प्रदेशअन्तर्गतका स्थानीय तहमा निर्वाचन सम्पन्न गर्न सरकारले थप प्रयास गरी निर्वाचनको उचित वातावरण बनाउन समाज आग्रह गर्दछ– समाजका अध्यक्ष डा केदारनरसिंह केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।