
कुल प्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विभिन्न ८ निर्णय गरेको छ । प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथसँगै मन्त्रिमण्डल गठन गरेका केसीले बिहीबार नै मन्त्रिपरिषद् बैठक राखेर विभिन्न ८ निर्णय गरेका हुन् ।
जसअनुसार प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली, २०६५ स्वीकृत गर्ने निर्णय भएको छ भने कोभिड–१९ का विरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारीसाधन (एम्बुलेन्स)को व्यवस्था गर्ने निर्णय भएको छ । सोका लागि चाहिने आवश्यक खर्च प्रदेश सरकारले व्यहोर्ने बैठकको निर्णय छ ।
यसैगरी कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर मार्फत एण्टीजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने निर्णय पनि भएको छ । यसैगरी कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासीलाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गरिने भएको छ ।
यसैगरी मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्नु पर्ने विरामीहरुलाई प्रदेश सरकारको तर्फवाट थप २ लाखका दरले राहत उपलब्ध गराउने पनि निर्णय भएको छ ।
मातृ मृत्यूदर कम गर्न प्रदेशका स्थानीय तहको मागको आधारमा एक एक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने समेत सरकारले निर्णय गरेको छ ।
यसैबीच बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री श्री कृष्णध्वज खड्कालाई तोक्ने निर्णय गरेको छ। मुख्यमन्त्री केसीले आजै ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।