
जनयुद्धका घाइतेले उपचार नपाए एमाले पार्टी कार्यालयमा आउनु उपचारको व्यवस्था गर्छु भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका सांसदहरूले विरोध जनाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाइँले माओवादी जनयुद्धका घाइतेको नभई झापा आन्दोलनका घाइतेको चिन्ता गर्न सुझाव दिएकी हुन् । ‘झापा आन्दोलनमा लागेकाको अवस्था कस्तो छ ? डिकेन्द्र राजवंशीले बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्नुपर्ने कारण के थियो ?’ उनले प्रश्न गरिन् ।
पार्टीले बेवास्ता गरेको भन्दै झापा आन्दोलनमा सहभागी राजवंशीले २०६७ साल वैशाखमा एमाले पार्टी कार्यालय बल्खुमा आत्महत्या गरेका थिए ।