
रसुवाको स्याफ्रुबेँसीस्थित पुरानो गाउँबस्तीमा आज बिहान घर माथिबाट आएको पहिरोका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५:३० बजे आएको पहिरोका कारण दुई स्थानीय बासिन्दा घाइते हुनाका साथै चार घर पूर्णरूपले क्षति भएका हुन् ।
जिल्लाको पहिलो सदरमुकामसमेत रहेको स्याफ्रुबेँसीस्थित पुरानो वस्तीमा पहिरोको जोखिम बढेपछि त्यस क्षेत्रमा बसोबास गर्ने २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
विस्थापितलाई अन्यत्र सार्न गोसाइँकुण्ड गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरीलगायत सुरक्षा निकाय एवं जनप्रतिनिधि जुटिरहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।
पहिरोका कारण घाइते हुनेमा सोनाम दोर्जे तामाङ र शुकदोर्जे तामाङ छन् । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाउँमाथिबाट आएको पहिराले स्थानीयवासी कामी तामाङ, राजुलामा, कर्पु लामा र सन्तोष तामाङको घर पूर्णरूपमा क्षति भएको छ । क्षतिको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।