
आज नेपाल र भारतमा नाग पञ्चमी पर्व मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन नागहरूको पूजाआजा गरी नागको तस्वीरमा दूध र दूबो चढाएर पर्व मनाउने गरिन्छ ।
नागपूजनको वैज्ञानिक, आध्यात्मिक र दार्शनिक महत्त्वका विषयमा धेरै मानिसले जानकारी राखेका हुँदैनन् । अहिले यसलाई कर्मकाण्डका रूपमा मात्र हेरिने गरेको छ ।
सनातन धर्ममा सर्पहरूलाई देवताकै रूपमा मान्ने गरिएको छ । भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्नुहुन्छ भने भगवान् शिवजी आफ्नो गलामा वासुकी नाग धारण गर्नुहुन्छ । पुराणहरूमा वर्णन गरिने समुद्र मन्थनमा वासुकी नागलाई डोरी तथा मन्दराचल पर्वतलाई मदानी बनाएर देवता र दानवहरूले मथेको प्रसंग आउँछ । सनातन धर्मबाहेकका आदिम परम्पराहरूमा पनि सर्पलाई ज्ञान, शक्ति र नवीकरणको प्रतीक मानेर पूजा गर्ने गरिन्थ्यो ।
तर सेमिटिक धर्महरूमा सर्पलाई शैतानका रूपमा हेर्ने गरिएको छ । बाइबलको पुरानो करार (ओल्ड टेस्टामेन्ट) मा एडम र इभलाई इडनको बगैंचाबाट निष्काशन गर्नका लागि शैतानले सर्पको रूप धारण गरेको वर्णन छ । त्यही सर्पले इभलाई ईश्वरको अवज्ञा गर्दै स्याउ खाएर चेतनाप्राप्तिका लागि उक्साएको लेखिएको छ । त्यसपछि ईश्वरको सराप पाएर एडम र इभ स्वर्गतुल्य इडन गार्डनबाट निकालिए ।
तर पश्चिममा सेमिटिक धर्महरू सबल हुनुअघिका बहुदेवतावादी तथा प्रकृतिपूजक परम्परामा सर्पहरूलाई सम्मान गरेको देखिन्छ । इजिप्टमा सर्पलाई पृथ्वीको सबभन्दा प्राचीन सन्तान तथा भूमिको रक्षकका रूपमा लिने गरिन्थ्यो । सर्पले सबै घरको रक्षा गर्छन् भन्दै घरमा सर्पका लागि दूध छुट्ट्याउने चलन रहेको पुरातत्त्ववेत्ताहरू बताउँछन् । प्रत्येक मन्दिरमा सर्पका लागि स्थान सुनिश्चित गरिएको हुन्थ्यो ।
त्यस्तै ग्रीसेली परम्परामा सर्प वा नागलाई दैवी प्राणी मान्ने गरिन्थ्यो । ग्रीसेली डायोनिसियन परम्परामा सर्पलाई बुद्धिमत्ता तथा ऊर्वरताको प्रतीकका रूपमा लिने गरिन्थ्यो । सर्पपूजनसँग जोडिने ग्रीसेली देवता एपोलो हुन् र उनको मन्दिरलाई पाइथो भनिन्थ्यो । त्यसैबाट पाइथन अर्थात् अजिंगर नाम रहन गएको हो ।
ग्रीसेली परम्परामा सर्पलाई गरिने सम्मान अहिलेको समयमा आधुनिक विज्ञानले समेत अपनाएको छ । स्वास्थ्य संस्थाहरूको लोगोमा तपाईंले एउटा लट्ठीमा बेरिएका दुई सर्पको तस्वीर देख्नुभएको हुनुपर्छ । सर्पले काँचुली फेर्ने भएकाले पुनर्जन्म र नवीकरणको प्रतीकका रूपमा ग्रीसेलीहरूले लिने गर्थे । अनि स्वास्थ्य संस्था र चिकित्सकहरूले पनि रोग लागेका वा मर्ने अवस्थामा पुगेका मानिसलाई पुनर्जन्म दिने तथा जीवन नवीकरण गर्ने भएकाले उनीहरूको पहिचानका लागि दुईवटा सर्पको तस्वीर राखिएको हो ।
वातावरण सन्तुलनमा राख्न सर्पको ठूलो महत्त्व रहेको कुरामा वैज्ञानिकहरूको मतैक्य छ । खाद्यप्रणाली अर्थात् फूड चेनमा सर्पहरू शिकारी र शिकार दुवै हुन् । सर्पहरू अन्य साना जीवको शिकार गरेर बाँच्छन् भने तिनीहरू आफैं पक्षी, स्तनधारी जनावर तथा अन्य सर्पहरूको शिकार बनिरहेका पनि हुन्छन् ।
शिकारीका रूपमा सर्पहरूले शिकारको संख्यालाई सन्तुलनमा राख्छन् । सर्प हुँदैनथिए भने मुसाहरूले अत्यधिक सन्तान जन्माउने भएकाले पृथ्वी नै ढाक्थे होलान् । मुसा मार्न विष प्रयोग गर्दा वातावरण प्रदूषित हुन्छ भने सर्पले मुसा खाएर वातावरणलाई स्वच्छ राख्छ । मुसा अनेकथरी भाइरसको वाहक प्राणी भएकाले मानिसमा भाइरस सर्ने सम्भावना रहन्छ । त्यही मुसालाई खाएर सर्पले मानिसहरूलाई पनि महामारीबाट जोगाइरहेका हुन्छ ।
सनातन परम्परामा सर्पहरूको आध्यात्मिक महत्त्वलाई मोक्षसँग जोडिएको छ । राजयोग अर्थात् कुण्डलिनी जागरणद्वारा मोक्षप्राप्ति गर्न सकिने विवरण हाम्रा पवित्र ग्रन्थहरूमा भेटिन्छ । त्यो कुण्डलिनी भनेको साढे तीन फन्का मारेर सुतेको सर्प हो । त्यसलाई जगाएमा मोक्षप्राप्तिको ढोका खुल्छ । योगदर्शनका प्रवर्तक महर्षि पतञ्जलिलाई आदि शेषनागकै अवतार मानिन्छ ।
वेदान्तग्रन्थमा पनि मायाको व्याख्या गर्दा सर्पको उल्लेख पाइन्छ । यो संसार डोरीमा सर्पको भ्रम जस्तो हो भनेर उदाहरण दिइनुले पनि सर्पको महत्तालाई प्रकट गरेको पाइन्छ ।
सन्त तुलसीदासको जीवन प्रसंगले पनि सर्पको आध्यात्मिक पक्षलाई उजागर गरेको छ । वैराग्य प्राप्त गर्नुअघि तुलसीदास आफ्नी पत्नीप्रति एकदमै धेरै अनुराग राख्थे भनी वर्णन आउँछ । एकपटक पत्नी माइती गएको बेलामा विरह सहन नसकी पानीमा रुझ्दै रातविरात तुलसीदास ससुराली पुगे । ससुरालीमा राति पुग्दा ढोका खोल्ने कोही नभएपछि पत्नीको कोठामा झुण्डिरहेको डोरी समातेर उनी माथि पुगेका थिए । तर त्यो डोरी नभई लामो सर्प थियो ।
त्यस्तो बिजोक तवरले आफूलाई पतिले भेट्न आएको देख्दा पत्नीले यति धेरै अनुराग ईश्वरप्रति राखे जीवन सफल हुन्थ्यो भनी व्यंग्य गरिन् । त्यस कुराले मनमा बिझेपछि तुलसीदासमा वैराग्य उत्पन्न भयो र उनी संन्यस्त जीवन बिताउन थाले । पछि उनले तुलसीकृत रामायण जस्तो पवित्र ग्रन्थ लेखे । त्यसैले तुलसीदासको जीवनमा आध्यात्मिक नवीकरण ल्याउनका लागि सर्पको पनि भूमिका देखिन्छ र यस प्रसंगलाई आध्यात्मिक जागरणको प्रतीकका रूपमा लिन सकिन्छ ।
श्रीकृष्णका विभिन्न लीलामा पनि सर्पहरूको वर्णन पाइन्छ । कालियदमनको प्रसंग प्रख्यात नै छ । कृष्णजन्म लगत्तै वसुदेवले नन्दको घर लग्दा ठूलो पानी परेर यमुनामा बाढी आएको र वसुदेवले टोकरीमा श्रीकृष्णलाई राख्दा नागले फणा उठाएर पानीबाट जोगाएको प्रसंग आउँछ ।
यस्तै किसिमको प्रसंग भगवान् बुद्धले ज्ञानप्राप्तिका लागि बोधीवृक्षमुनि ध्यानस्थ अवस्थामा रहँदाको बेलामा पनि वर्णन गरिएको छ । बुद्धले ध्यान गरेको ६ हप्तापछि आकाश कालोनीलो भएर मुसलधारे पानी परेको अनि मुचलिन्द नाग पातालबाट पृथ्वीमा आएर बुद्धलाई फणाले ढाकेर पानीबाट जोगाएको वर्णन भेटिन्छ ।
श्रीकृष्णका नाति परीक्षितले सर्पदंशबाट हुन लागेको मृत्युका कारण श्रीशुकदेवबाट श्रीमद्भागवत महापुराण सुनेको तथा परीक्षितका छोरा जनमेजयले पिताको मृत्युको प्रतिशोध लिन सर्पयज्ञ गरेको प्रसंगले पनि सर्पको महत्त्व उजागर गरेको देखिन्छ ।
गर्मी हुने ठाउँमा पाइने भएकाले शायद उष्णकटिबन्धीय भारतवर्षका नागरिकको जीवनमा सर्प वा नागको यति धेरै उपस्थिति भएको हुनुपर्छ । अनि जाडो बेलामा दुलोमा लुकेर बस्ने र गर्मीको बेलामा बाहिर निस्कने भएकाले सर्प वा नाग पुनर्जन्म र नवीकरणको प्रतीक मानिएको हुनुपर्छ । तर नागमा विष हुनाले र नागले डसेपछि मानिसको मृत्यु हुने भएकाले नागप्रतिको भय पनि मानिसमा उत्तिकै हुन्छ । त्यही भयका कारण नागलाई पूजन गरेर दूध तथा अन्य कुरा अर्पण गरी सन्तुष्ट बनाउने चलन चलेको हुनुपर्छ ।
नाग वा सर्पको यस्तो आधिदैविक, आधिभौतिक र आध्यात्मिक महत्त्व बुझेर यसको संरक्षणमा लाग्न हामीलाई नाग पञ्चमी पर्वले अभिप्रेरित गरेको छ ।