०१ असार २०८३, सोमबार

पार्टी महाधिवेशन र सरकारबारे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मन्थन

पार्टी महाधिवेशन र सरकारबारे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मन्थन
फाइल फोटो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि जारी छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीवारदेखि शुरू भएको बैठक दोस्रो दिन पनि जारी छ ।

शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यले पार्टीको १४ महाधिवेशनको कार्यतालिका परिमार्जनको सम्बन्धमा आ–आफ्नो धारणा राखेका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, धनराज गुरुङ, मिनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्याम कुमार घिमिरे, रामकृष्ण यादव, किरण शर्मा पौडेल, उमाकान्त चौधरी लगायतले आफ्नो धारणा राखेका उनले जानकारी दिए । बैठकपछि १४औं महाधिवेशनको परिमार्जित कार्यतालिका आउने उनले बताए ।

बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रूपमा धारणा निर्माण हुने उनले उल्लेख गरे । उनले भने, ‘राष्ट्रिय राजनीतिलाई सही ढंगले सम्पादन गरेर अगाडि जानुपर्ने कार्यभार एकातर्फ छ राष्ट्रिय राजनीतिको । अर्कोतर्फ नेपाली कांग्रेस पार्टीको महाधिवेशन सम्पन्न गर्दै संगठनलाई सुदृढ बनाएर जाने घरेलु कार्यभार छ । यो २ वटै कार्यभारको सम्बन्धमा बैठकमा भइरहेको छलफलपछि हामी निष्कर्षमा पुग्नेछौं ।’

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता शर्माले वर्तमान सरकारको एक पिल्लर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता रहेको उल्लेख गर्दै नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बनाए । उनले भने, ‘यो सरकार बन्दै गर्दा ४ वटा पिल्लर खडा छ । त्यसमध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमालेको छ । उहाँहरूको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरू रहेको बेलामा उहाँहरू एउटा टुंगोमा पुगिसकेपछि स्वाभाविक छ कि सरकार गठनको पूर्णताको प्रक्रियाले मार्गप्रशस्त प्राप्त गर्छ ।’

बैठकमा केन्द्र्रीय निर्वाचन समितिबाट प्रस्तावित भएर आएको निर्वाचन निर्देशिकामाथि पनि छलफल चलिरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्