०५ साउन २०८३, मंगलबार

गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

साउन ३०, २०७८
गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा
प्रतिकात्मक तस्वीर

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरू गरेको छ ।

गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

‘शुरूआतमा दलित, विपन्न, एकल महिला, अल्पसंख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौं,’ अध्यक्ष थापाले भने, ‘गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै १ करोड ५० लाख विनियोजन गरिएको छ ।’

गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई स्वास्थ्यको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने र समय–समयमा स्वास्थ्य परीक्षण गर्न तथा बिरामी पर्दा सहजरूपमा उपचार गर्न सकुन् भन्ने गाउँपालिकाको मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताए । कार्यक्रमका लागि झण्डै २ करोड लाग्ने अनुमान गाउँपालिकाको छ । १ करोड ५० लाख विनियोजन गरिए पनि ५० लाख रुपैयाँ जति रकम अभाव हुनसक्ने देखिएकाले थप गरिने अध्यक्ष थापाले बताए ।

स्वास्थ्यको पहुँच सबै नागरिकसमक्ष पुर्‍याउँदै स्वस्थ नागरिकसहितको समृद्ध गाउँपालिका बनाउने लक्ष्य प्राप्तिका लागि अभियानमार्फत सहजता हुने अध्यक्ष थापाले बताए । एउटा परिवारमा १ देखि १० जनासम्म रहेका छन् । गाउँपालिकाले यो अभियान कार्यान्वयनमा ल्याएसँगै हालसम्म १ हजार ५१४ घरधुरीका ७ हजार बढी संख्या लाभान्वित भइसकेका स्वास्थ्य शाखाका प्रमुख खड्का थापाले बताए ।

गाउँपालिकाका ४ हजार ७०० घरधुरीका २२ हजार ७३५ जनालाई सेवा उपलब्ध गराइने भएको छ । आगामी असोज महिनासम्ममा यो अभियानलाई हरेक नागरिकसम्म पुर्‍याई सकिने शाखा प्रमुख थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्