
पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरू भएको छ ।
धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरू गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।
संरक्षणको अभावमा झण्डै १ दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए ।
इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । ‘वैशाखबाटै टिप्न शुरू गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ,’ वडाध्यक्ष सुनारले भने, ‘ढिलो गरी टिपेका कारण ५/७ किलोभन्दा उत्पादन गर्न सकेनौं ।’
विक्रम संवत् २०६७ सालमा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरू गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो । उचित संरक्षण र रेखदेखको अभावमा चियाखेती फस्टाउन सकेको थिएन । २ वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरू गरेको सुनारले बताए ।
साविक फलामखानी गाविसको वडा नम्बर ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरू गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले चिया खेतीको सम्भावना रहेको छ ।
इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरू गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।
‘दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरू गरिएको हो,’ महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, ‘स्थानीयको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।’ १ हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो ।
नगदेबालीको रूपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको शुरुआत् गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नम्बर ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए । – लक्ष्मीप्रसाद सापकोटा/रासस