
छोराछोरीलाई राम्रो शिक्षा पढाउने र पढाइसकेपछि जागिर खुवाउने सबै बुवाआमाको लक्ष्य हुन्छ । पछिल्ला केही वर्षदेखि सामान्य परिवारले समेत ऋण खोजेर भए पनि महंगा निजी स्कूलमा छोराछोरीलाई पढाउने प्रचलन चलिरहेको छ ।
अझ विदेशतिर पढ्न पठाउनेको संख्या पनि बढिरहेको छ । मोरङको कानेपोखरीका सुमन बानियाँलाई पनि बुवाआमाले विराटनगरको एक कलेजमा ‘होटल म्यानेजमेन्ट’ पढाए । उनलाई कुनै पनि खर्चको अभाव नहोस् भनेर भारत तथा मलेसियाका तारे होटलमा तालिमका लागि पठाए ।
२९ वर्षका सुमनका बुवाआमाको लक्ष्य थियो – छोराले पढिसकेपछि अस्ट्रेलिया, अमेरिका पठाउने र धेरै सम्पत्ति आर्जन गर्ने ।
सुमनजस्तै विराटनगरका रेवती अधिकारी, सुनसरीको इटहरीका शौरभ दाहालका बुवाआमाको लक्ष्य पनि यस्तै थियो ।
छोराहरूको भविष्यका लागि तीनै जनाका बुवाआमाले सरसल्लाह नै गरेर अस्ट्रेलिया पठाउने योजना बनाएका थिए । तीनै जनाका बुवाआमा छोराहरूकै कारण परिचित भएका थिए, उनीहरू मिल्ने साथी हुन् ।
१० वर्षदेखि उनीहरू परिचित छन् । एउटै कलेजमा पढ्ने, एकै ठाउँमा खाने गरेर उनीहरूको दिनचर्या बितिरहेको थियो ।
२०७४ सालमा उनीहरूले होटल म्यानेजमेन्टको पढाइ पूरा गरे । पढाइ सकेपछि भारत तथा नेपालका विभिन्न होटल तथा रेस्टुरेन्टमा काम पनि गरे ।
नेपालका होटलमा काम गर्दा दुःख भोग्नुपरेको उनीहरू बताउँछन् । ‘पढाइ सकेपछि पनि तीनै जनाले सँगै काम गर्यौं,’ रेवतीले भने, ‘डिग्री पास गरेका हामीले २५ हजार मात्रै तलब पायौं । बिहानदेखि राति अबेरसम्म काम गर्नुपर्थ्यो । डिग्री सकेका छौं भन्ने हामीलाई कहिल्यै पनि घमण्ड आएन ।’
होटलमा पैसा कम भएपछि उनीहरूले सीटीईभीटीबाट अनुमति लिएर होटल म्यानेजमेन्ट पढाउन थाले, इलाम, खोटाङ, दिक्तेल, बर्दिवाससम्म गएर होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई तालिम पनि दिए । मासिक ४०–५० हजार रुपैयाँसम्म कमाइ गर्न थालेका उनीहरूलाई विदेश जानका लागि दबाब पनि बढ्न थालेको थियो ।
परिवार तथा आफन्तको दबाबपछि उनीहरूले अस्ट्रेलिया जान भाषा सम्बन्धी तयारी गरे । ‘बुवाआमाले मात्रै होइन,’ रेवती भन्छन्, ‘त्यतिबेला विवाह गरेका थिएनौं, गर्ल फ्रेन्डले पनि अस्ट्रेलिया जान भनेर भनेका भन्यै गरेका थिए । हामी पनि अस्ट्रेलिया जान भनेर तयारी अवस्थामा थियौं । अस्ट्रेलिया जान भनेर घरमा पैसा मागौं र नेपालमै होटल खोलौं भन्ने सल्लाह गर्यौं । घरबाट पैसा पाएपछि मात्रै हामीले परिवारलाई योजना सुनायौं ।’

होटल खोल्दा उनीहरू २५ वर्षका मात्रै थिए, अहिले होटल खोलेको ४ वर्ष भयो । होटल खोल्ने भने पनि केही ठाउँमा कोठा भाडा नपत्याउने जस्ता व्यवहार पनि उनीहरूले भोगे ।
उनीहरूले खोलेको होटलमा १८ जनालाई रोजगारी पनि दिएका छन् । ‘हामी मालिक हो भनेर गजक्क भएर बस्दैनौं, अरु कामदार जसरी नै काममा खटिन्छौं,’ सुमनले भने, ‘जुन सोच बनाएर व्यवसाय थालेका थियौं, त्यही अनुसारको प्रगति पनि गरिरहेका छौं । कोरोना भाइरसका कारण केही समस्या भए पनि राम्रो आम्दानी भएको छ ।’ उनीहरूले स्वाद रेस्टुरेन्ट नाम दिएर होटल सञ्चालन गरेका छन् ।
१०० जनाको क्षमताको रेस्टुरेन्टलाई १ नम्बर प्रदेशका ठूला शहरमा खोल्ने योजना रहेको उनीहरूको भनाई छ । धरान, इटहरी, दमक र विराटनगरमा शाखा खोल्ने योजना रहेको सौरभ बताउँछन् । उनीहरूले समयको माग अनुसारका खानेकुराहरू खुवाउने गरेका छन् । ‘ढिडो पनि माग भयो भने बनाउँछौं तर यो चल्दैन,’ सौरभले भने, ‘अक्टोपस, प्राउन, लोवेस्टर, तन्दुरी चिकनका परिकारहरू धेरै चल्ने गरेकाले तिनै खानेकुरा बनाउँछौं ।’
‘सीप आफ्नै देशमा लगानी गरौं’ भन्ने उद्देश्य लिएर होटल सञ्चालन गरेको उनीहरूको भनाई छ । एकैपरिवारका दाजुभाइ जस्ता देखिने उनीहरू ‘पढेर नेपालमा केही गर्ने अवसर छैन’ भनी विदेशतिर पलायन हुनेका लागि उदाहरणीय पात्र बनेका छन् ।
‘विदेश गएको भए महिनामा २–३ लाख कमाउँथ्यौं, त्यति त यहीँ पनि कमाएकै छौं । त्यहाँ अरुकोमा काम गर्नुपर्थ्यो, यहाँ युवाहरूलाई रोजगारी समेत दिइरहेका छौं,’ उनले भने । मेहनत र समय अनुसार चल्न सके नेपालमा पनि रोजगारीका अवसरहरू रहेको उनीहरू बताउँछन् ।