
नेपाल टेलिकमको आर्थिक वर्ष २०७७/७८ मा आयमा वृद्धि भए पनि मुनाफा भने घटेको छ ।
टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहे पनि यो आर्थिक वर्षमा भने एक अर्ब २८ करोड ३७ लाख ६९ हजारले वृद्धि भएको छ । त्यो भनेको टेलिकमको कुल सेवाबापतको आय ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार हो ।
खुद मुनाफा भने करीब २ अर्बले घटेको छ । आर्थिक वर्षमा २०७७/७८ मा खुद मुनाफामा ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रहेको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक अवधिसम्मको खुद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख ५६ हजार थियो ।
टेलिकमले मुनाफा कम हुनुमा पाँच कारणलाई मानेको छ ।
१. कोभिड-१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको।
२. बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा घट्न गएको हुँदा ब्याज आम्दानीमा कमी आएको ।
३. कोभिड-१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डाटाको उपभोग बढे तापनि राजश्व आशातीत रुपमा वृद्धि हुने अवस्था नरहेको ।
४. कोभिड-१९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभूतपूर्व गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआबद्धता सेवामा भारी गिरावट आएको ।
५. समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोरजी/एफटीटीएचजस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।