२३ असार २०८३, मंगलबार

सबै विद्यार्थीलाई कोभिड खोपको व्यवस्था तत्काल मिलाउन कांग्रेस नेताहरूको माग

सबै विद्यार्थीलाई कोभिड खोपको व्यवस्था तत्काल मिलाउन कांग्रेस नेताहरूको माग

नेपाली कांग्रेसका नेताहरूले सबै विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । केन्द्रिय कार्यसमितिको तेस्रो दिन शनिवार पनि जारी बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सबै विद्यार्थीहरूलाई तत्काल खोप उपलब्ध गराई सबै तहको परीक्षा सञ्चालन गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । 

खोपको अभावमा विद्यार्थीहरूले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रीय सदस्यहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बैठकमा नेताहरूले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरूलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए । 

पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरूलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरूले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए । 

भूतपूर्व गोर्खा सैनिकहरूले बेलायतमा विभिन्न माग राखेर धर्ना दिइरहेकाले उनीहरूको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरूले दबाब दिएका थिए । 

अफगानिस्तानमा रहेका नेपाली युवाहरूको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई कांग्रेस केन्द्रीय सदस्यहरूले आग्रह गरेका थिए । 

‘अफगानिस्तानमा पछिल्लो जे घटना भइरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरू कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरू कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरूको अवस्था के छ ? र आवश्यक पर्‍यो भने सरकारले उनीहरूलाई प्रक्रिया पुर्‍याएर उद्धार गर्न गम्भीर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ,’ उनले भने । 

बैठकमा नेताहरूले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी रहेको नेपाली कांग्रेसले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्