काठमाडौँ, ३० जेठ - प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गरेका छन् ।

आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको भन्दै आएको समाचार र प्रचारमा कुनै सत्यता नरहेको गृहमन्त्री शर्माले बताए । मन्त्री शर्माले आफूले गृह मन्त्रालय सम्हालेको एकाध दिन मात्रै भएको र आफूले सबै विषयमा जानकारी नै नलिएको अवस्थामा आफूलाई थाहा नै नभएको विषयमा गरिएको प्रचार सत्य र यथार्थ नभएको स्पष्ट पारे ।
“प्रहरीको सरुवा, बढुवा प्रहरी प्रधान कार्यालयले गर्छ, त्यसमा मन्त्रीले अनावश्यक चासो राख्नुको कुनै अर्थ रहँदैन” उनले भने, “म सरुवा बढुवामा लागेको छैन, म गृह प्रशासन बुझ्दैछु, सुरक्षाको दृष्टिकोणले के गर्ने भन्ने विषयमा सम्बन्धित अधिकारीको अधिकारको विषय हो ।”