
चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टरअन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए । दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी दिएको हो । कम्तीमा दुई महिनाअघि मरेको हुन सक्ने आशंका गरिएको छ ।
खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको बताइएको छ । ‘खाग काटिएका अवस्थामा मृत गैँडा भेटियो । नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले मृतावस्थामा फेला पारेको हो । यस लगत्तै निकुञ्जको उच्चस्तरको टोलीले अनुसन्धान अघि बढाएको छ,’ उनले भने, ‘हामीले अनुसन्धान जारी राखेका छौँ ।’ कुहिएकाले भाले पोथी पहिचान हुन सकेको छैन । घटनालगत्तै कारागारबाट छुटेका र अन्य शंकास्पदमाथि अनुसन्धान थालिएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ मरेका थिए ।
चालू आर्थिक वर्षका साउनमा मात्रै प्राकृतिक कारणले पाँच गैँडा मरेका छन् । यो सहित ६ गैँडा मरेका हुन् । निकुञ्जले गस्ती कार्यलाई तीव्रता दिएको भए पनि चोरी शिकार रोकिन सकेको छैन ।