
नवनियुक्त लुम्बिनीका विना विभागीय मन्त्री अजय शाहीले आफूलाई एमालेको ह्वीप नलाग्ने बताएका छन् ।
आफू स्वतन्त्र सांसद भएको भन्दै एमालेले सोधेको स्पष्टीकरणको कुनै औचित्य नभएको बताए ।
एमाले संसदीय दलले स्पष्टीकरण सोधेको चौथो दिन प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले आफू स्वतन्त्र सांसद भएकाले एमालेले आफूलाई कारवाही गर्न नसक्ने बताए । उनी सूर्य चिन्हबाट निर्वाचित सांसद हुन् । शाहीसहित गठबन्धन सरकारले ७ सदस्यीय मन्त्रिमण्डल बनाएको छ ।
एमालेले साउन २८ गते पत्र काटेर तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण बुझाउन शाहीलाई निर्देशन गरेको थियो । लुम्बिनी प्रदेशको चार दलीय गठबन्धन सरकारमा उनी पनि सहभागी छन् ।
‘आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्नु औचित्यहीन र अलोकतान्त्रिक काम हो,’ शाहीले भने, ‘कार्य क्षेत्र नाघेर एमाले अघि बढ्यो भने कानूनी उपचार खोज्नुपर्ने हुन्छ ।’
एमालेले सोधेको स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शाहीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने बताएका छन् ।
२०७४ को आमनिर्वाचनमा एमाले र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच भएको दुई बुँदे सहमतिमा पनि ‘स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने’ उल्लेख छ ।
शाही साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशनमा पनि सहभागी थिए । एमालेको संसदीय दलको बैठकले विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो । शाही नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका थिए । शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् ।
यता एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले अजय शाहीलाई पार्टीले कारवाही गर्ने बताए । उनले भने, ‘पत्र मैले आधिकारिक पाएको छैन । तर, पत्र देखेँ । उहाँलाई कारवाही हुन्छ । त्यसको लागि पार्टी केन्द्रलाई पत्र काट्दै छौँ । उहाँलाई सांसद पद जाने गरी पार्टीले कारवाही गर्छ ।’
सूर्य चिन्ह एमालेको भएको भन्दै अहिले स्वतन्त्र भन्न नमिल्ने ढकालले बताए । ‘उहाँ एमालेबाट चुनाव जित्नुभएको हो । अहिले स्वतन्त्र भन्न मिल्दैन । अरू माननीयको पद जाने उहाँको नजाने भन्ने हुँदैन पद जान्छ,’ उनले भने ।