जनकपुरधाम, ३० जेठ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको आम हड्तालका कारण तराई मधेसका जिल्लाको जनजीवन प्रभावित भएको छ । असार १४ गतेका लागि निर्धारित स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रम प्रभावित गर्न राजपाले आम हड्तालसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बन्दका कारण जनकपुरलगायत तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण जनकपुरमा उद्योग, व्यापार, कलकारखाना, सवारी साधन, शैक्षिक संस्थान लगायत विभिन्न संघ संस्था, बजार पूर्णरुपमा ठप्प रहेको छ । बजारमा चिया पसल, पान पसल, नास्ताका पसल र केही होटेलहरु खुलेका छन् । राजपाका नेता तथा कार्यकर्ताहरुले आज विहानै देखि जनकपुर सहरको विभिन्न चौकहरुमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
यस्तै विहानै देखि सहरका विभिन्न चौकहरुमा मोटरसाईकल र्यालीसहित विरोध प्रदर्शन गरेका छन् । मोटरसाईकल र्यालीमा प्रदर्शनकारीहरुले आआफ्नो हातमा राजपा नेपालका झण्डा, हातमा लाठी तथा भाटाहरु सहित प्रदर्शन गरिरहेका छन् ।
बन्द हडतालको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीहरुले जनकपुरमा केही निजी सवारी साधनहरुमा तोडफोड समेत गरेका छन् । प्रदर्शनकारीहरुको जनकपुरको पिडारी चौकमा ना.५ख २८६८ नम्बरको मालबाहक ट्रक, ज१च ८२२५ नम्बरको ट्याक्टर, ज१त ४३३ नम्बरको म्याजिक भ्यानमा तोडफोड गरेका छन् । त्यसैगरी जनकपुरको मुजेलियामा पार्किङ्ग गरेर राखिएको अस्थायी नम्बरको ना.अ.प एचटी ४३३, अनटेस्ट टिफरको प्रदर्शनकारीहरुले शिशा फुटाईदिएको सवारी धनी जनकपुर २ बस्ने संतोष यादवले गुनासो गरेका छन् ।

यादवका अनुसार आफूहरुले बन्दको अवज्ञा नगरेको भए पनि सडक भन्दा तल पार्किङ गरेर राखिएको टिपरको शिशा प्रदर्शनकारीहरुले फुटाइदिएका हुन् । यादवले भने, ‘बन्दको क्रममा मैले सवारी साधन चलाएको भए फुटाए हुन्थ्यो । तर, पार्किङ गरेर साईड लगाई बन्द रहेको टिफरको शिशा फुटाउनु भनेको अन्याय हो ।’

त्यसैगरी प्रदर्शनकारीहरुले आज जनकपुरको भ्रमरपुरा चौकमा भारतीय नम्बर प्लेट विआर ०६ पिए ७९२३ नम्बरको बोलेरो, ज१च ६०९ नम्बरको सवारी साधन, ज१च ८३० नम्बरको मालबाहक ट्रकमा तोडफोड गरेका छन् । जनकपुरकै पुल चौक स्थित बस पार्कमा ना३ख ४२९० नम्बरको ट्रक र सिता चौकमा ना५ख १४४५ नम्बरको ट्रकमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले जनकपुरमा मोटरसाईकल र इरिक्साहरुलाई चल्न दिएको भएपनि छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरुलाई भने चल्न दिएका छैनन् । राजपा नेपाल धनुषाका संयोजक परमेश्वर साहले जनाए अनुसार घोषित आम हडतालको क्रममा बैदेशिक कुटनीतिक नियोगका गाडी, एम्बुलेन्स, मानव अधिकार आयोगको गाडी, प्रेस, विद्युत, औषधि, दुध बोक्ने गाडी तथा विवाहमा जाने गाडीलाई कुनै पनि प्रकारको अवरोध तथा असर पारिएको छैन ।

त्यसैगरी १ अषाढ २०७४ देखि संचालन हुने कक्षा ११ को परीक्षालाई समेत कुनै प्रकारको अवरोध नपुर्याइने साहले जनाएका छन् । यद्यपि शैक्षिक संस्थानहरु भने बन्द गरिएको छ ।

बन्दको पुर्वसंध्यामा सोमवार साँझ प्रदर्शनकारीहरुले राष्ट्रिय झण्डा समेत बोकेर मशाल जुलुस निकालेका थिए । जनकपुरको क्याम्पस चौकबाट निस्किएको मशाल जुलुसले नगरका विभिन्न भागहरुको परिक्रमा गरेको थियो । राजपा नेपालले सुरुको चरणमा २ अषाढमा हुने उम्मेदवारी मनोनयन पत्र दर्ताको कामलाई विथोल्ने उद्देश्य सहित जेष्ठ ३० देखि अषाढ २ गतेसम्मका लागि मधेस, थरुहट र लिम्बुवान बन्द सहित आम हडतालको आह्वान गरिएको छ ।