
मौलिक जरोकिलो पार्टीले दल विभाजनको लागि ल्याइएको अध्यादेशको कडा शब्दमा विरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै गुटको कठपुतली नबन्न अनुरोध गरेको छ ।
कोरोना संक्रमणको कारण अर्थतन्त्रदेखि सामाजिक जीवन तहसनहस भएको बेला संसद छलेर दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनु कपूतन्त्रले गरिरहेको घृणित राजनीतिको एउटा शृंखला भएको ठहर गरेको छ ।
गतवर्ष पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले दल विभाजनको लागि रातारात गरेर राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि ल्याइएको अध्यादेशको विरोध गर्ने शक्ति मौका पर्दा आफै दल विभाजन गर्न खुकुलो पार्ने अध्यादेश ल्याउनुले नेपाली कांग्रेसको नेतृत्वमा न्युनतम नैतिकता समेत नभएको देखाएको छ ।
कोरोना संक्रमणको कारण अर्थतन्त्र अस्तव्यस्त भएको बेला सरकारको सम्पूर्ण शक्ति राहतमुलक कार्य र खोपको व्यवस्थापनमा हुनुपर्नेमा सरकार बने लगत्तै फुट र विभाजनको दाउपेचमा लाग्नु अत्यन्त दु:खद कुरा भएको पार्टीले जनाएको छ ।
नेपालको सत्तावृत्तमा सिन्डिकेट जमाएर बसिरहेका दलहरूको साइनबोर्ड मात्रै फरक हो अन्तर्यमा यी सबै कपूतन्त्रका घटकहरू भएको हुँदा नेपालमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिको लागि कपूतन्त्रको समूल अन्त्य आवश्यक भन्ने कुरामा झनै प्रमाणित हुँदै गएको मौलिक जरोकिलो पार्टीले ठहर गरेको छ ।