
लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण बुधवार पनि अवरुद्ध भएको छ ।
सूर्य चिह्नबाट निर्वाचित २ सांसद विमला वली खत्री र अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै दोस्रो दिन पनि एमालेले रोस्टम घेराउ गर्दै सदन अवरुद्ध गर्यो ।
सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभा सचिवालयलाई पत्र काटेर वली र शाहीलाई सांसद पदमुक्त गर्न एमालेले आग्रह गरेपनि पदमुक्त नगरिएपछि सदन अवरुद्ध गर्नुपरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
एमालेका सांसदहरूले रोस्टम घेराउ गर्दै ‘हाम्रा माग पूरा गर’ भन्दै नाराबाजी गरेको थिए । एमाले सांसद बैजनाथ चौधरीले ‘संसदीय मर्यादा कायम गर, विधिसंगत सदन सञ्चालन गरौं, एकाधिकारवाद मुदावार्द’ भन्दै नाराबाजी गरेका थिए ।
एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख पूर्णबहादुर घर्ती हाँसिरहेका थिए । एमालेले सदन सत्तापक्षले एकलौटी रूपमा चलाउन खोजेको आरोप लगाएको छ ।
एमालेले कारवाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताए । उनले संसदको नियमानुसार नै कारबाही अघि बढ्ने बताएका छन् ।
वली नेकपाबाट निर्वाचित सांसद हुन् । उनले माओवादी केन्द्र रोजेकी छन् भने शाही आफू स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप आफूलाई नलाग्ने भन्दै मन्त्री बनेका छन् ।
निरन्तर बैठक अवरुद्ध हुँदा मुख्यमन्त्री सदनमा बोल्ने र विश्वासको मत लिने बताइए पनि सदन चल्न सकेको छैन । मुख्यमन्त्री कूलप्रसाद केसी साउन २७ गते नियुक्त भएका थिए ।