०५ साउन २०८३, मंगलबार

आयोगमा दल दर्ताको निवेदन दिएपछि माधव पक्षले भन्यो- ओलीसँग एकताको च्याप्टर क्लोज !

आयोगमा दल दर्ताको निवेदन दिएपछि माधव पक्षले भन्यो- ओलीसँग एकताको च्याप्टर क्लोज !

नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एमाले (समाजवादी)ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति र एकताको ‘च्याप्टर क्लोज’ भएको प्रतिक्रिया जनाएको छ । 

बुधवार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि माधव नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले पटक–पटक प्रतिनिधि सभा विघटन गर्दा पनि ओलीले माफी नमागेका कारण आफूहरूले नयाँ दल खोल्नु पर्ने अवस्था आएको बताएका हुन । 

‘प्रतिनिधि सभा विघटनमा माफी नमागेकोले संविधानको रक्षाको निम्ति र पार्टी एकताका लागि पटक–पटक प्रयत्न गर्दा पनि ओली नसच्चिएकोले एमाले समाजवादी पार्टी नाम गरेको दल दर्ता गरेका छौँ,’ पाण्डेले भने, ‘हामी चाँडै राष्ट्रिय सम्मेलन र भेला गरेर यसलाई नेपालको कम्युनिष्ट आन्दोलन तथा सर्वहारा श्रमजीवी क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुपमा देशभर जान्छौँ ।’

पाण्डेले एमाले पुनर्गठन भएर आएमा मात्र अब एकता सम्भव हुने बताए । तर, अर्की नेतृ रामकुमारी झाँक्रीले दल दर्ताका लागि निवेदन दिए पनि एकताको सम्भावना बाँकी रहेको बताइन् । ‘आयोगमा दल दर्ताको निवेदन दिए पनि पार्टी एकताको सम्भावना बाँकी छ, चुनावअघि पनि पछि पनि एकता हुन सक्छ,’ पाण्डेले भने । 

पाण्डेले निर्वाचन आयोगले छिटोभन्दा छिटो एकता प्रक्रिया टुंगाउने जानकारी दिएको बताए । 

दल दर्ताको निवेदन दिन माधव नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए । माधव पक्षले प्रस्ताव गरेको चुनाव चिह्न खुला किताबमा विवाद भएपछि चिह्नबारे पुनर्विचार गरिने पाण्डेले बताए । 

जीवन राईले दर्ता गरेको नेकपा एकीकृतको चुनाव चिन्ह कमललाई लिएर अघि बढ्न सक्ने नेता पाण्डेको भनाइ छ । 

कमेन्ट गर्नुहोस्