
काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घटेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ दुर्घटना भएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताए ।
“दुर्घटना हुनु आफैँमा दुःखद् हो तर सडक नियमको पालना आफ्नै सुरक्षाका लागि हो भन्ने महसुस सबै सडक प्रयोगकर्ताले गरे नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालनाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्छ,” उनले भने ।
उनका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना शुक्रबार भएका छन् । “शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएका छन्, जहाँ ६४५ वटा दुर्घटना भएका छन्,” सुवेदीले भने ।
ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ ।