अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि सत्ताको खेल शुरू भएको छ ।
पूर्व राष्ट्रपति हामिद कारजाईले तालिबानका प्रमुख नेता अनस हक्कानीसँग नयाँ सरकार बनाउने विषयमा चर्चा थालेका छन् । राष्ट्रपति को बन्ने त्यसको निर्णय अमीर छान्ने प्रक्रियामा निर्भर रहनेछ ।
लोया जिर्गाका माध्यमले चुनाव गर्दा देशमा ठूलो संख्यामा मानिसले त्यसलाई स्वीकार गर्ने बताइएको छ ।
विश्लेषकहरूका अनुसार, तालिबानको कट्टरपन्थी खेमाका नेता सिराजुद्दीन हक्कानीले सरकार गठनमा प्रमुख भूमिका खेल्नेछन् । युद्धसरदारहरूको भूमिकालाई नकार्न पनि सकिँदैन ।
अनि तालिबानले नयाँ सरकारमा ताजिक, हजारा जस्ता गैरपश्तुन जातिलाई पनि ठाउँ दिनुपर्ने हुन्छ ।
त्यसैले तालिबानलाई नयाँ सरकार बनाउन सोचे जति सजिलो छैन ।
अफगानिस्तानमा लगभग तीन लाख सेना तितरबितर भएको छ । अफगान सेनालाई तालिबानमा सहभागी गराइएमा उनीहरूले तालिबान लडाकूलाई अमेरिकी हतियार चलाउने प्रशिक्षण दिनेछन् । तालिबानले अमेरिकी हतियारमा कब्जा गरेका छन् ।
यी सैनिकहरूलाई सही तरिकाले उपयोग नगरिएमा विद्रोह गर्न सक्छन् ।
इराकमा सद्दाम हुसेनको पतनपछि अमेरिकाले इराकी सेनालाई अन्त्य गरेको थियो । पछि अमेरिकालाई त्यो निर्णय प्रत्युत्पादक भएको थियो । आगामी दिनमा अफगान सैनिकहरू जता लाग्छन्, त्यसैको सन्तुलन बलियो बन्नेछ ।