०१ असार २०८३, सोमबार

पंजशिर उपत्यकामा पस्न डराउँछ तालिबान, के छ त्यहाँ त्यस्तो ?

भदौ ३, २०७८
पंजशिर उपत्यकामा पस्न डराउँछ तालिबान, के छ त्यहाँ त्यस्तो ?

अफगानिस्तानमा व्यापक उथलपुथल भइरहँदा एउटा सानो ठाउँले सबैको ध्यान खिचेको छ । 

देशका अन्य भागमा जस्तो दौडादौड, आतंक र त्रास त्यस ठाउँमा छैन । कोही पनि लुक्न बाध्य भएको छैन । 

यो ठाउँ पंजशिर उपत्यका हो । यहाँ नर्दन अलायन्सको गढ छ । 

अफगानिस्तानका ३४ प्रान्तमध्ये यहाँ मात्र तालिबानको कब्जा छैन । सन् १९७० र १९८० को दशकमा सोभियत संघले यसलाई नियन्त्रणमा लिने कोशिश गरेको थियो तर सकेन । 

तालिबानलाई चुनौती दिने शक्ति पंजशिरले कहाँबाट पाउँछ र त्यहाँका मानिस को हुन् ? 

पंजशिरलाई पंजशेर पनि भनिन्छ जसको अर्थ हुन्छ– पाँच सिंहको उपत्यका । काबुलभन्दा १५० किलोमिटर उत्तरतर्फ रहेको यस उपत्यकाको बीचमा पंजशिर नदी बग्छ । हिन्दुकुश पर्वत यहाँबाट नजिकै पर्छ । 

पंजशिरमा महत्त्वपूर्ण राजमार्ग छ । त्यसबाट हुँदै हिन्दुकुश नजिक दुईवटा पासको बाटो जान्छ । 

यस उपत्यकामा पन्नाको उत्खनन गर्न सकिन्छ । मध्यकालमा पंजशिर चाँदी उत्खननका लागि प्रख्यात थियो । त्यहाँ पाइएका क्रिस्टलहरूको विश्वस्तरीय रहेको बताइएको छ । 

यस उपत्यकामा हालैका दिनमा विकासका धेरै काम भएका छन् । आधुनिक सडकहरू बनाइएका छन् र नयाँ रेडियो टावर पनि ठड्याइएको छ । 

पंजशिरमा कब्जा गर्ने कोशिश धेरैले गरेको भए पनि कोही सफल भएनन् । अफगानिस्तानमा अमेरिकाले बम बर्साउँदा पनि पंजशिरलाई कुनै असर परेन । 

त्यस उपत्यकामा कुनै पनि हिंस्रक संघर्ष भएन र कुनै विपत पनि आएन । 

त्यसैले गर्दा अमेरिकाले मानवीयता कार्यक्रम अन्तर्गत दिएको कुनै सहायता कार्यक्रम त्यहाँ पुगेन । सात जिल्ला भएको यस प्रान्तका ५१२ गाउँमा अहिले पनि बिजुली र पानीको आपूर्ति छैन । दिनदिनै केही घन्टा जेनेरेटर चलाएर मानिसहरूले काम चलाउँछन् ।

पंजशिरका अहमद शाह मसूदले नर्दन अलायन्सको सूत्रपात गरेका थिए । पश्चिमी मुलुकहरूसँग मसूदको निकट सम्बन्ध थियो । 

तालिबानले मसूदबाट खतरा अनुभव गरेकाले सेप्टेम्बर ११ का आक्रमणभन्दा केही समयअघि अलकायदाका एक लडाकूले टीभी पत्रकारको भेष धारण गरेर उनको हत्या गरेको थियो । 

पंजशिरको सुरक्षाको जिम्मेवारी तिनै मसूदका छोरामा छ । 

तालिबानविरुद्धको लडाइँमा नर्दन अलायन्सलाई विभिन्न देशको समर्थन छ । अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्दा नर्दन अलायन्सले उसलाई सहायता गरेको थियो । तालिबान सत्ताच्युत भएपछि नर्दन अलायन्स भंग गरियो र पार्टीहरूले अन्तरिम अफगान प्रशासनलाई समर्थन गरे । 

पंजशिरका मानिसमा आफ्नो भूमिको प्रतिरक्षा गर्ने भाव प्रबल छ । द न्युयोर्क टाइम्समा प्रकाशित एक समाचारमा उल्लेख गरिएअनुसार, पंजशिरका स्थानीयले तालिबानविरुद्ध लड्ने, आत्मसमर्पण नगर्ने बताए । आतंकवादीहरूसमक्ष आत्मसमर्पण गर्नुको साटो मृत्युवरण गर्ने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्