
काबुल कब्जा गरेको चार दिनपछि तालिबानले अफगानिस्तान इस्लामिक अमिरात घोषणा गरेको छ ।
बिहीवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबानका आधिकारिक प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ राज्यको स्थापना गरिएको बताए । उनले अमिरातको झण्डाको तस्वीर पनि सार्वजनिक गरेका छन् ।
बेलायतले अफगानिस्तानमा नियन्त्रण परित्याग गरेको १०२ वर्षपछि इस्लामिक अमिरात स्थापना गरिएको उनले बताए । अगस्ट १९ लाई अफगानिस्तानमा बेलायतबाट स्वतन्त्रता पाएको दिनका रूपमा लिँदै राष्ट्रिय दिवस मानेर बिदा दिने गरिन्छ ।
तालिबानले आधिकारिक संवादमा इस्लामिक एमिरेट अफ अफगानिस्तान भन्ने गरेको थियो ।