
जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीगत र चुनावी स्वार्थभन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्ने बताएका छन् ।
बिहीवार समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्क्रियामा बोल्दै डा. भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको बताए ।
‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रूपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौं । चुनाव चिह्न छोड्न हामीलाई गाह्रो । भोट जनताले त्यसैमा हाल्छ । त्यो छोड्यौं भने भोट आउँदैन कि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौं, अब आँट गर्नैपर्छ,’ उनले भने ।
उनले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।