०८ असार २०८३, सोमबार

प्रत्येक वर्ष २ छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

भदौ ३, २०७८
प्रत्येक वर्ष २ छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका २ जना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । 

महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण छात्रामध्येबाट २ जनालाई निःशुल्क पढाउने भएको हो ।

महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत २ जना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसईई र ८ कक्षाको नतिजाको आधारमा छात्रा छनोट गरिने व्यवस्था छ । 

महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्रविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ । त्यसैगरी पोखरा महानगरपालिका–१९ ले यो वर्ष एसईई उत्तीर्णमध्ये १ जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । 

वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार वडाभित्र एसईई उत्तीर्णमध्ये गरिब तथा जेहेन्दार १ जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको छ ।

पोखरा महानगरपालिका–३० ले पनि थप १ जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोखरेलले बताए ।

शिक्षालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करीब २२० जना सहभागी भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्