
गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुंगे पुल निर्माण भएको छ ।
पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुंगे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी ९ मध्ये पाँचथरमा ६ तथा ताप्लेजुङमा तीन पुलको निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।
दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला र त्यही वडा जोड्ने ११९ मिटरको अर्को इवाखोला झोलुंगे पुल निर्माण सम्पन्न भएको हो ।
कार्यालयका अनुसार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा १२० मिटरको तमोर नदीमा झोलुंगे पुल फूलबारी आमबोटे, मैवाखोला गाउँपालिका–६ थुकिम्बा र मेरिङदेन गाउँपालिका–१ पाङ्लाबुङ जोड्ने ११५ मिटरको मैवाखोला झोलुंगे पुल र फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ र ६ लाई जोड्ने १२० मिटरको पुल निर्माण सम्पन्न भएको छ ।
यसैगरी पाँचथरतर्फ फिदिम नगरपालिका–११ र १३ लाई जोड्ने ७३ मिटरको पञ्चमी झोलुंगे पुल, फिदिमकै वडा नं ८ र १३ लाई जोड्ने ९६ मिटरको बोझेगरा–टिम्मुरे झोलुंगे पुल, फिदिमकै वडा नं १४ मा १२० मिटरको बाँस्बोटे शीतलपाटी झोलुंगे पुल, फालेलुङ गाउँपालिका–३ मा ८१ मिटरको खेवा थानखोला पोक्नवा झोलुंगे पुल र मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा ९३ मिटरको सेङ्गेवा खोला झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् ।