
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति आपत्ति जनाएका छन् ।
अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले झुट बोलेको दाबी गर्दै उनले देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न पनि चेतावनी दिएका छन् ।
बुधवार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको दाबीसमेत गरे ।
‘नेकपा एमाले पार्टी फुटाउन लागेको देशका लागि ? सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ हात हालेर अनुचित ढंग र बाटोबाट कानून निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक छ,’ उनले भने, ‘यो अध्यादेश नआएको भने देश के हुन्थ्यो ? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउँथ्यो ? यो के घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पातमा राखिएको पानी हो ? यो देश खर्तक्क झर्ने, कहाँ खस्यो–खस्यो थाहा नपाउने ? देश जोगाउनका लागि अध्यादेश भन्ने कुराको पनि हद हुन्छ नि !’