२२ जेठ २०८३, शुक्रबार

कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

भदौ १०, २०७८
कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोेर्ट बनाइदिने शहीद गंगालाल हृदयरोग केन्द्रका कर्मचारीमाथि छानबिन शुरू गरेको छ ।

मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ परीक्षणको नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन शुरू गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको छ ।

केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा. शंकर काफ्ले सदस्य रहेको ३ सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए ।

यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, विना परीक्षण रिपोर्ट निकाल्ने गरेको पाइएको उनले जानकारी दिए ।

‘केन्द्रको ल्याब कक्षमा बसेर नक्कली रिपोर्ट बनाउनका लागि बार्गेनिङ गर्ने गरेको पनि पाइयो,’ उनले भने, ‘स्वाबको परीक्षण नगरिकन यादवले रिपोर्ट बनाउने गरेको देखियो ।’

उपसचिव बस्नेतका अनुसार विदेश जानेको संक्रमण देखिए यादवले रकम लिएर रिपोर्टलाई ‘नेगेटिभ’ पनि बनाउने गरेको पाइएको छ । यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।

यादवलाई सेवा शर्त नियमावली अनुसार भविष्यमा केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्