
झापाको कन्काई नगरपालिका–१ स्थित दुर्गापुरका ३४ वर्षीय रविन विक र उनकी श्रीमती २९ वर्षीया मुना विकले ८ महिने शिशुसहित घरमै झुण्डिएर आत्महत्या गरे ।
वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जान दाजुसँगै काठमाडौं आएका उनी कोरोना संक्रमणका कारण जान नपाएर घरमै क्वारेन्टीनमा बसिरहेका थिए ।
सोही अवस्थामा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले बताए ।
‘उहाँ साउदी जान दाजुसँगै जानुभएको रहेछ, कोरोना देखिएपछि फर्किएको छिमेकी आफन्तले बताउनुभएको छ,’ प्रवक्ता थापाले लोकान्तरसँग भने, ‘फर्किएपछि आर्थिक भार भएको भन्दै तनावमा थिए भन्ने कुरा आएको छ ।’
यसभन्दा अगाडि बहराइन र कतार गएर आएका रविन झापामा सानो घर बनाएर बसेका थिए ।
झापाबाट वैदेशिक रोजगारीमा पठाउने एजेन्टको समेत काम गर्दै आएका उनले विदेश पठाइदिने भन्दै अरूसँग पैसा समेत लिएको खुलेको डीएसपी थापाले बताए ।
‘केही दिनदेखि पैसा फिर्ता माग्न थालेपछि प्रेसरमा भएको आफन्तले बताउनु भएको छ,’ डिएसपी थापाले लोकान्तरसँग भने ।
अहिले तीनै जनाको मेची अस्पतालमा पोष्टमार्टम भइरहेको र आजै (मंगलवार) दाहसंस्कार हुन लागेको छ ।
झापामा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३३५ जनाले आत्महत्या गरेका थिए, जसमध्ये ९३ प्रतिशत झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता थापाका अनुसार आत्महत्या गर्ने सबैभन्दा धेरै आर्थिक लेनदेन/ घरायसी समस्याका छन् ।
‘झापामा सबैभन्दा धेरै २२ प्रतिशत आर्थिक लेनदेन र घरायसी समस्याका कारणले आत्महत्या गरेको देखिन्छ,’ डीएसपी थापाले भने, ‘त्यसमा पनि विवाहित बढी छन्, जसलाई आर्थिक समस्याले सताएको छ ।’
यस्तै २०७७ फागुन २५ गते दैलेखको आठबीस नगरपालिका–३ निमाइलमा बच्चासहित ४ जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरे ।
३५ वर्षीया आमा सुकु बडुवाल छोराछोरी १४ वर्षीया कल्पना बडुवाल, ११ वर्षीया सरिता बडुवाल, ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालसहित कर्णाली नदीमा हामफालेकी थिइन् ।
आर्थिक अवस्था कमजोर भएको र श्रीमान् मानसिंह बडुवालले दैनिक मदिरा सेवन गरेर परिवारमा झगडा गर्ने भएकाले आत्महत्या गरेको देखिएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा भनेको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुप श्रेष्ठका अनुसार दैलेखमा पनि आर्थिक तथा घरायसी समस्या कारणले आत्महत्या गर्नेको संख्या धेरै छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका छन्, जसमा सबैभन्दा धेरै झुण्डिएर ५ हजार ७३१ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ भने ३ हजार १८५ पुरुष, १ हजार ८८८ महिला, २५६ बालक र ४०२ बालिका रहेका छन् ।
हाम फालेर ४४ जना, विष खाएर १ हजार २८६ जना, हातहतियार प्रयोग गरेर १५ जना र डुबेर २५ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७८७ जनाले आत्महत्या गरेका थिए ।
यसरी हेर्दा झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । आत्महत्या गर्नेको संख्या हेर्दा प्रदेश १ र बाग्मती प्रदेश अगाडि छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा यो प्रदेशमा १ हजार ५१८ जनाले आत्महत्या गरेका छन् ।
काठमाडौं उपत्यकामा ५५२ (प्रहरीले उपत्यकाको तथ्यांक अलग राख्ने गरेको छ), लुम्बिनी प्रदेशमा १ हजार ३८३, प्रदेश २ मा ९५९, बाग्मती प्रदेशमा १ हजार ३२ जना, गण्डकी प्रदेशमा ६४४ जना, कर्णाली प्रदेशमा ३६५ जना र सुदुरपश्चिम प्रदेशमा ६८८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।