२८ जेठ २०८३, बिहीबार

मुख्यमन्त्री बनेकै दिन प्रदेश १ मा भीम आचार्यको विकल्प खोजी, तीन दल जुटे छलफलमा

भदौ १०, २०७८
मुख्यमन्त्री बनेकै दिन प्रदेश १ मा भीम आचार्यको विकल्प खोजी, तीन दल जुटे छलफलमा

प्रदेश नम्बर १ मा भीम आचार्य मुख्यमन्त्री बनेको दिनबाटै उनको विकल्प खोज्न शुरू भएको छ ।

आचार्यलाई विस्थापित गर्दै नयाँ सरकार गठन गर्ने तयारीका लागि विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् ।

आज मात्रै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा भीम आचार्य मुख्यमन्त्री बनेका छन् । 

एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यले शपथ लिए पनि एमाले विभाजनले उनको बहुमत गुम्न सक्ने देखिएको छ ।

आचार्य मुख्यमन्त्री बनेको पहिलो दिन नै उनको विकल्प खोज्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छलफल शुरू गरेका छन् ।

नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद राजेन्द्र राई काठमाडौंबाट विराटनगर ओर्लिएकै दिन विपक्षी गठबन्धनले सरकार गठनका लागि छलफल शुरू गरेको हो ।

‘भीम आचार्य नेतृत्वको सरकार १ महिनासम्म चलोस् भन्ने हाम्रो कामना छ,’ मुख्यमन्त्रीका दाबेदार समेत रहेका राईले भने, ‘हामी एक साताभित्रै निर्वाचन आयोगमा गएर सरकारको आयु घोषणा गरिदिन्छौं ।’

एमाले विभाजित भएपछि निर्वाचन आयोगले दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनको समय दिएको छ ।

एमालेमा रहँदा आचार्यलाई साथ दिएका सांसदहरू उनीसँग रुष्ट बनेका छन् । 

नेकपा विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रचण्ड–माधव नेपाल पक्षले आचार्यलाई नै मुख्यमन्त्री प्रस्ताव गरेको थियो ।

पछि आएर आचार्यले माधव नेपालको साथ छाडेपछि माधव नेपाल पक्षका सांसदहरूले उनलाई साथ दिन नसकिने बताउँदै आएका छन् ।

बहुमतप्राप्त दल एमाले विभाजन भएकाले विपक्षी गठबन्धन सरकार बनाउन हौसिएको छ ।

गठबन्धनमा बहुमत पुगिसकेकाले नयाँ सरकार बनाउन धेरै समय कुर्नु नपर्ने माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

आचार्य नेतृत्वको सरकार बनेकै दिन अल्पमतमा परिसकेको उनको जिकिर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्