
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार राति इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी, आईएसआईएस–के, आईएसके) का दुई आत्मघाती आक्रमणकारीले बम विस्फोट गराउँदा १०० भन्दा बढी मानिसको ज्यान गएको छ ।
यस्तो किसिमको आक्रमण हुन सक्ने भनी अमेरिका, बेलायत र युरोपेली संघले चेतावनी दिँदै आफ्ना नागरिकलाई विमानस्थलबाट हट्न आग्रह गरिरहेका थिए । आखिर उनीहरूले आशंका गरेको अप्रिय घटना भइछाड्यो ।
आक्रमणमा १३ जना अमेरिकी सैनिक तथा ९० जना अफगान सर्वसाधारणको मृत्यु भएको जानकारी द वाल स्ट्रीट जर्नलले दिएको छ । मारिनेमा बालबालिका पनि छन् ।
कुल दुईवटा विस्फोट भएको र गोली पनि चलेको घटनाका प्रत्यक्षदर्शीहरूले बताएको भनी रोयटर्स समाचार संस्थाले खबर दिएको छ । तर एकजना मात्र आतंककारीको नाम सार्वजनिक भएको छ । एउटा आक्रमण विमानस्थलको एब्बी गेटमा र अर्को चाहिँ ब्यारोन होटल नजिक भएको बताइएको छ ।
द गार्डियन पत्रिकामा प्रकाशित खबरअनुसार, आईएसको समाचार संस्था अमाकले आफ्नो टेलिग्राम च्यानलमा अब्दुल रहमान अल–लोगारी नामक सदस्यले काबुल विमानस्थलमा शहादत पाएको बताएको छ ।
सन् २०१५ डिसेम्बर २१ एक आत्मघाती आक्रमणकारीले ६ जना अमेरिकी सैनिकलाई बागराममा हत्या गरेपछि अमेरिकाको लागि यो सबभन्दा ठूलो हताहती हो । यसको बदला लिनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
आक्रमणका लागि जिम्मेवार मानिसलाई छानीछानी मार्ने उनले बताएका छन् । यस आक्रमणको आदेश दिने इस्लामिक स्टेटका नेताहरूलाई ठूलो सैन्य कारवाही नगरिकनै पत्ता लगाएर सिध्याउने उनले प्रतिबद्धता जाहेर गरेका छन् । अर्थात्, आईएसकेपीलाई कारवाही गर्ने नाममा अमेरिकीहरू पुनः अफगानिस्तानमा फर्किने छैनन् बरू विशेष कारवाही गरेर त्यसलाई सिध्याउनेतिर ध्यान दिनेछन् ।
आक्रमणमा २८ जना तालिबान लडाकू पनि मारिएका छन् । तालिबानले विमानस्थलमा सुरक्षा तथा निगरानीको काम गरिरहेको थियो । आईएसकेपीले तालिबान र अमेरिका दुवैलाई आफ्नो शत्रु मान्ने गरेको छ ।
आईएसकेपीका लडाकूलाई खोजेर मार्ने अभियानमा अमेरिका र तालिबानको सहकार्य हुने देखिएको छ । त्यसैले यो आक्रमणबाट तालिबानले राजनीतिक लाभ प्राप्त गर्ने र अमेरिकाले उसलाई मान्यता दिनका लागि बाटो खुल्ने भारतीय कूटनीतिकर्मी एमके भद्रकुमारले आफ्नो वेबसाइट इन्डियन पन्चलाइनमा टिप्पणी गरेका छन् ।
काबुलमा सत्ता चलाउन खोजिरहेको तालिबानलाई संसारका सबै मुलुकबाट मान्यताको चरम आवश्यकता छ । अझ पश्चिमी मुलुकले दिने मान्यतामा तालिबान लालायित छ किनकि ती मुलुकहरूले तालिबानका करोडौं डलर बराबरको सम्पत्ति रोक्का गरेर राखेका छन् ।
तालिबान र अमेरिकाबीच आईएसकेपीविरुद्धको कारवाहीका लागि अनौपचारिक तथा अघोषित सहकार्यको सहमति बनेको कुरा पोहोर साल द वाशिङटन पोस्टमा वेस्ली मोर्गनले लेखेका थिए ।
तर तालिबानलाई आईएसकेपीमाथि कारवाही चलाउने दिशामा केही जटिलताहरू देखिएका छन् । तालिबानभित्रैको कट्टरपन्थी समूह हक्कानी नेटवर्क र आईएसकेपीबीच सम्बन्ध रहेको बताइन्छ । अफगानिस्तानका स्वघोषित कामचलाउ राष्ट्रपति अमरुल्लाह सालेहले त स्पष्ट रूपमा तालिबान र हक्कानी नेटवर्कको अवैध सम्बन्ध आईएसकेपीसँग रहेको दाबी गरेका छन् ।
फरेन पोलिसी पत्रिकामा एसिया पसिफक फाउन्डेसनका इन्टरनेसनल सेक्युरिटी डाइरेक्टर सज्जन एम गोहेलले हक्कानी नेटवर्क र आईएसकेपीबीचको सम्बन्धलाई नजिकैबाट नियाल्नुपर्ने लेखेका छन् । उनका अनुसार, आईएसकेपीको आक्रमणले काबुलको सुरक्षाको जिम्मेवारी पाएको हक्कानी नेटवर्कलाई रणनीतिक लाभ दिनेछ किनकि यसले गर्दा विदेशीहरूको बहिर्गमनमा तीव्रता आउनेछ । विदेशीलाई छिटो बाहिर पठाउने अनि अफगानहरूलाई स्वदेशमै रोकेर राख्ने हक्कानी नेटवर्क तथा तालिबानको नीति हो ।
हक्कानी नेटवर्कको चर्चा गरौं । जलालुद्दीन हक्कानीले सन् १९७० मा हक्कानी नेटवर्क बनाएका थिए । त्यस नेटवर्कले सन् १९७५ मा तत्कालीन राजा जाहिर शाहलाई कू गरेर हटाउने मोहम्मद दाउद खानका विरुद्ध आक्रमण गरेर जिहाद शुरू गरेको थियो । त्यसपछि जलालुद्दीन हक्कानी मुजाहिद्दीन कमान्डरका रूपमा चर्चित भए ।
पछि सोभियतविरुद्धको लडाइँमा हक्कानी नेटवर्क सक्रिय रह्यो । उसलाई पाकिस्तानको पनि समर्थन थियो । सोभियतको पतन भएको केही वर्षपछि तालिबानको उदय भएर ऊ सत्तामा आएपछि हक्कानी नेटवर्कले तालिबानप्रति बफादारिता व्यक्त गरेको थियो ।
तालिबानको पतनपछि हक्कानी नेटवर्कले पश्चिमसमर्थित सरकारलाई असफल बनाउन विभिन्न गतिविधि गर्ने गरेको थियो । अमेरिकाका सैन्य अड्डादेखि दूतावाससम्मका आक्रमणमा हक्कानी नेटवर्कको संलग्नता रहेको बताइन्छ । सन् २०१६ मा जलालुद्दीनका छोरा सिराजुद्दीन हक्कानीलाई अफगान तालिबानका सर्वोच्च नेता मुल्ला हैबतुल्लाह अखुन्दजादाभन्दा मुनि दोस्रो दर्जा दिइएको थियो ।
तर हक्कानी नेटवर्कको सम्बन्ध आईएकेपीसँग रहेको विषयमा सबैको एकमत छैन । अन्य विश्लेषकहरू अलकायदासँग चाहिँ बरू हक्कानी नेटवर्कको घनीभूत सम्बन्ध रहेको र यसले गर्दा अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादको मलिलो भूमि बन्ने खतरालाई औंल्याइरहेका छन् ।
आईएसकेपीको कुरा गर्दा यो तालिबान, क्वेट्टा शुरा तथा हक्कानी नेटवर्कबाट असन्तुष्ट रहँदा निस्केका कट्टरवादीहरूको समूह हो । यसमा पाकिस्तानी, अफगान र उज्बेक अतिवादीहरू रहेको बताइन्छ । सन् २०१५ मा यसको गठन गरिएको हो ।
अमेरिकाको सैन्य एकेडमी वेस्ट पोइन्टमा आतंकवाद विशेषज्ञ रहेकी अमीरा जादूनका अनुसार, गठन भएको छोटो समयमै आर्ईएसकेपीले अफगानिस्तानको उत्तर र उत्तरपूर्वी क्षेत्रका ग्रामीण इलाकामा नियन्त्रण कायम गरेको थियो । त्यसले अल्पसंख्यक शिया समुदाय तथा सरकारी कर्मचारीहरूलाई तारो बनाउने गरेको थियो ।
तर अमेरिका नेतृत्वको गठबन्धन सेना तथा अफगान सेनाको आक्रमणले ठूलै क्षति गरेपछि आईएसकेपीका १४ सय लडाकू र तिनका परिवारले अफगान सरकारसमक्ष सन् २०१९ को अन्त्यतिर आत्मसमर्पण गरेका थिए ।
यति हुँदाहुँदै पनि यस समूहले इराक र सिरियामा रहेको इस्लामिक स्टेटको केन्द्रीय संगठनबाट पैसा, सरसल्लाह तथा तालिम पाउने गरेकोले यसलाई कम आँक्न मिल्दैन । इराक र सिरियामा इस्लामी खलिफा बनाउने आईएसको योजनाकै सिको गर्दै आईएसकेपीले मध्य र दक्षिण एसियामा खलिफा बनाउन खोजेको छ । उसले इरानदेखि हिमालय शृंखलासम्मको ऐतिहासिक बृहत्तर खोरासान क्षेत्रलाई खलिफाका रूपमा हेर्न चाहेको छ ।
यस क्षेत्रको सबभन्दा प्रख्यात र सबल जिहादी संस्था बन्ने धोको आईएसकेपीले पालेको जर्ज वाशिङटन विश्वविद्यालयको प्रोग्राम अन एक्स्ट्रिमिजमका रिसर्च फेलो एन्ड्रु माइन्स बताउँछन् ।
त्यो लक्ष्य हासिल गर्नका लागि उसले अन्य जिहादी संगठनमा असन्तुष्ट रहेका लडाकूहरूलाई भित्र्याउने काम गरेको छ । अनि सरकारले सुरक्षा दिन सक्दैन, हामी सुरक्षा दिन्छौं भनी अफगान नागरिकलाई विश्वस्त तुल्याउनका लागि अव्यवस्था मच्चाउने काम पनि उसले गरिरहेको छ ।
पश्चिमको समर्थनमा रहेको अफगान सरकार ढलिसकेपछि तालिबानको सरकार बन्न लागेको अवस्थामा त्यसलाई पनि विफल तुल्याउने आईएसकेपीको लक्ष्य हो । तालिबानलाई राष्ट्रवादी शक्ति भन्दै आईएसकेपीले घृणा गर्ने गरेको छ ।
तालिबानलाई अफगानिस्तानमा मात्र सरकार बनाउने चासो छ भने आईएसकेपी इरान, तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान सबैका केही क्षेत्र लिएर खलिफा बनाउने योजनामा छ ।
त्यसो त तालिबानले आईएसकेपीका लडाकूहरूका विरुद्ध आक्रामक कारवाही गरेर त्यसलाई एक हदसम्म नियन्त्रण गर्न सफलता पाएको छ । विदेशी सैन्य कारवाही तथा तालिबानको पनि आक्रमण झेलेको आईएसकेपीमा अहिले २ देखि ४ हजार लडाकू मात्र रहेको अमेरिकाको कंग्रेसनल रिसर्च सर्भिसेजको अध्ययनले देखाएको छ ।
कमजोर भए पनि आईएसकेपी अफगानिस्तानमा खतरनाक शक्तिका रूपमा रहिरहने काबुल आक्रमणले देखाएको छ । अमेरिका अफगानिस्तानबाट हटेपछि यो समूह थप उत्साहित बनेको आकलन सुरक्षाविज्ञहरूले गरेका छन् ।
आईएसकेपीलाई तह लगाउने जिम्मेवारी अब तालिबानको हातमा छ । तालिबानलाई असफल साबित गर्नका लागि उसले भयानक आक्रमणहरू गरिरहने देखिन्छ । तालिबानले यस समूहलाई नियन्त्रणमा लिन नसकेमा अफगानिस्तान हिंसाको जालोमा थप कसिँदै जानेछ र सर्वसाधारणका लागि कष्टकर दिनहरू जारी रहनेछन् ।