
एनएमबी बैंक लिमिटेडले दोस्रो कार्यकालका लागि ह्याण्डलिङ बैंकको विशिष्ठीकृत सेवा प्रदान गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेको छ । केन्द्रले एनएमबी बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्डअनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिङ बैंक चयन गरेको हो । केन्द्रले ‘क’ वर्गको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाको लागि आह्वान गरेको थियो ।
एनएमबीले दिगो बैंकिङ्अन्तर्गत रही देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनका लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखे कार्य गर्दै आएको छ ।
स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोतहरूको उपयोग गर्ने र भारतबाट बिजुली र जीवशेष इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको बैंकले जनाएको छ ।
बैंकमा अनुसार हालसालै अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा सिद्धान्तहरूको आधारमा आफ्नो हरित कर्जा कार्यविधि र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरू र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत समेटेर बनाइएको छ ।
‘एनएमबीले दोस्रो कार्यकालमा समेत नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान, कर्जा लगायत भायाबिलिटी ग्याप फन्डिङमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत रहेको केन्द्रीय नवीकरणीय कोषलाई स्तरीय ह्याण्डलिङ् बैंक सेवाहरू प्रदान गर्नेछ,’ कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘यस सम्झौताले समग्र नविकरणीय ऊर्जा क्षेत्रलाई मूल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय संसाधनहरूमा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि मद्दत गर्ने विश्वास राखेका छौँ । साथै यो सम्झौता बैंकको हरित कर्जा पोर्टफोलियोको वृद्धिमा कोशेढुंगा सावित हुनेछ ।’
बैंकले देशैभर १८१ शाखाहरू, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत अत्याधुनिक एवं उच्चस्तरीय बैंकिङ् सेवाहरू प्रदान गर्दै आइरहेको छ ।