२३ जेठ २०८३, शनिबार

जलवायु परिवर्तनको जोखिम घटाउन नवीकरणीय ऊर्जामा जोड दिऔँ : राष्ट्रपति

जलवायु परिवर्तनको जोखिम घटाउन नवीकरणीय ऊर्जामा जोड दिऔँ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको उल्लेख गर्दै प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानु पर्नेमा जोड दिएकी छन् ।

जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजना भएको कार्यक्रममा राष्ट्रपतिले नेपाल आफैं जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभएतापनि यसबाट उत्पन्न गम्भीर प्रभाव भोग्ने राष्ट्रहरूको माथिल्लो सूचीमा रहनु चिन्ताको विषय भएको स्पष्ट पारिन् ।  

राष्ट्रपति कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषको तर्फबाट कोषले गर्दै आएका वन्यजन्तु संरक्षणसम्बन्धी नियमित गतिविधी तथा विश्वव्यापी जलवायु परिवर्तनको अवस्थाबारे अन्तरसरकारी समिति (आइपीसीसी)ले हालै प्रकाशित गरेको प्रतिवेदनउपर अलग-अलग प्रस्तुतिहरू राखिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, 'कार्बन उत्सर्जनद्वारा विश्वव्यापी तापमान वृद्धि गर्न नेपालको भूमिका छैन । तर, तापमान वृद्धिकै कारण नेपालका हिमालहरू पग्लिने क्रम बढ्ने, वर्षातको प्रवृत्तिमा परिवर्तन आउँदा बाढी र भूक्षयका घटनाहरू बढ्ने लगायतका प्रभावको हामीले सामना गर्नु परिरहेको छ ।'

जलवायु परिवर्तनका विविध पक्षलाई  मध्यनजर गरी यसका नकारात्मक एवं आकस्मिक प्रभावबाट जनताको सुरक्षा गर्न नेपालले पर्वतीय तथा अल्पविकसित राष्ट्रका रूपमा भोगिरहेका समस्यालाई  विश्वमन्चमा बलियो गरी उठाउनका लागि सबै सरोकारवाला पक्षको ध्यानाकर्षण सो अवसरमा राष्ट्रपतिले गराइन् ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले कोषका गतिविधिका साथै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न नेपालको राष्ट्रिय प्रतिवद्धताका विभिन्न पक्षमा प्रकाश पारेका थिए । कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले कोषको इतिहास र वर्तमान अवस्थाबारे परिचय गराएका थिए भने कोषका वैज्ञानिकहरू डा. सिद्धिरत्न बज्राचार्यले वन्यजन्तु  संरक्षण र डा. मनिषराज पाण्डेले आइपीसीसीको प्रतिवेदनउपर प्रस्तुतिकरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्