
श्रीलङ्काले विगत २४ घण्टाको अन्तरालमा २०० भन्दा बढी मानिसका मृत्यु भएको भन्दै देशभर जारी कडा निषेधाज्ञा आदेशलाई महामारी नियन्त्रणका लागि भन्दै थप एक हप्तासम्म बिस्तार गर्ने भएको छ ।
“देशभर लगाइएको कडा प्रतिबन्धको अवधि आगामी मङ्गलबारदेखि अन्त्य हुनेगरी व्यवस्था भएपनि अझै सङ्क्रमण दरमा नियन्त्रण नआएको भन्दै सरकारले सेप्टेम्बर ६ सम्मका लागि कडा प्रतिबन्धात्मक व्यवस्थालाई बिस्तार गर्ने तयारी गरेको हो,” स्वास्थ्य मन्त्री केहेलिया रामबुकवेलाले भने ।
श्रीलङ्कामा कार्यरत विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरूलगायत ३३ जना प्रमुख स्वास्थ्य विशेषज्ञहरूले अझ कडा प्रतिबन्ध लगाउन आह्वान गरेपछि सरकारले लकडाउनको अवधिलाई थप बिस्तार गर्ने तयारी गरेको हो ।
अस्पतालहरूले डेल्टाको प्रभावको फैलावट सामना गर्न असम्भव भएको भन्ने विज्ञहरूको चेतावनी र दबावपछि राष्ट्रपति गोताबाया राजपाक्षले अगस्त २० देखि १० दिने बन्द गर्ने विषयमा सहमति जनाएका थिए ।
श्रीलङ्कामा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिमध्ये बिहीबारसम्ममा आठ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पर्यटनका लागि प्रसिद्ध यस एशियाली मुलुकमा अहिलेसम्म कूल चार लाख १२ हजार ३७० व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमण दर र मृत्यु दरका हिसाबले हेर्दा यो एसियाकै सबैभन्दा खराब प्रभावित देशहरुमध्ये एक भएको छ ।