०४ असार २०८३, बिहीबार

कांग्रेस महाधिवेशनतिर लम्कियो, ३८ जिल्लामा निर्वाचन अधिकृत परिचालन

भदौ १२, २०७८
कांग्रेस महाधिवेशनतिर लम्कियो, ३८ जिल्लामा निर्वाचन अधिकृत परिचालन

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया शुरू गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । 

भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन शुरू गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले जिल्ला निर्वाचन अधिकृतहरू खटिएको जिल्लामा जाने क्रम शुरू भएको जानकारी दिए ।

पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ । हिमाली र दुर्गम जिल्लामा पुग्न केही दिन लाग्ने भएकाले पहिलो चरणमा निर्वाचन अधिकृत खटाइएको उनले बताए ।

निर्वाचन अधिकृतलाई क्रियाशील सदस्यताको नामावली, निर्वाचन निर्देशिका लगायतका निर्वाचनसँग सम्बद्ध सामग्री पठाइएको छ । काठमाडौं आसपासका जिल्ला र सुगम जिल्लामा भने १–२ दिनमा प्रतिनिधि खटाइने भएको छ ।

क्रियाशील सदस्यताको छिनोफानो भएपछि बाँकी जिल्लामा पनि प्रतिनिधि खटाइने जानकारी कांग्रेसले दिएको छ । पार्टीले क्रियाशील सदस्यतालाई अन्तिमरूप दिन समय लागे पनि छिनोफानो भएका जिल्लामा भने निर्वाचन प्रक्रिया शुरू गर्न निर्वाचन अधिकृत खटाइएको छ ।

सबै जिल्लामा भदौ १८ गते एकै चरणमा वडास्तरको अधिवेशन गरिने भए पनि प्रतिनिधि विभिन्न चरणमा खटाउनुपर्ने अवस्था रहेको जनाइएको छ । अब निर्धारित मितिमै पार्टीको महाधिवेशन गर्ने नै आफूहरूको उद्देश्य रहेको निर्वाचन समितिका संयोजक यादवले बताए ।

यसैबीच, पार्टीको निर्वाचन समितिले विभिन्न ४८ जिल्लाका क्रियाशील सदस्यताको विवरण वेबसाइटमा सार्वजनिक गरिएको जनाएको छ । निर्वाचन समितिका संयोजक यादवले हालसम्म क्रियाशीलको टुंगो लागेका ४८ जिल्लाका कायम रहेका सदस्यहरूको नामावली सार्वजनिक गरिएको जानकारी दिए ।

अब २९ जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी छ । पार्टीले निर्वाचन समितिलाई सदस्यताको सूची उपलब्ध गराए पनि थप जिल्लाको समेत सार्वजनिक गरिने जनाइएको छ ।

अर्कोतर्फ क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गर्दै संस्थापन इतर पक्षका जिल्ला सभापतिहरूले विगत ३ दिनदेखि पार्टी कार्यालयमा शुरू गरेको रिले अनसन शुक्रवार पनि जारी रहेको नेपाली कांग्रेसका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्